आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025 Search
FLASH NEWS

मध्यविन्दु नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

    प्रकाशित २०८१ पौष २८, आईतबार (२ दिन अघि)


प्रिय धन , चोरमारा । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको १६औं नगरसभा आज आइतबार सम्पन्न भएको छ। मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नुभएको प्रगति विवरणसहित आज सर्वसम्मत रुपमा पारित भएको हो। नगरसभामा गत आर्थिक वर्ष २०८०/८१ को यथार्थ आय ,व्यय र नगद मौजदातको स्थिति प्रस्तुत गर्ने ,आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व, संघ तथा प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान र राजस्व बाँडफाड समेत गरी कुल आय रु ८६ करोड ३५ लाख ५२ हजार प्राप्त भएको र कुल व्यय तर्फ रु ७५ करोड १९ लाख २ हजार रुपैयाँ रहेको उपप्रमुख पूर्ण कला चौधरीले बताउनुभयो । जसमध्ये चालु तर्फ ५० करोड ९१ लाख ७० हजार पुँजी तर्फ २४ करोड २७ लाख ३२ हजार खर्च भएको पनि चौधरीले बताउनुभयो । यसैगरी रु २ करोड २६ लाख १७ हजार संघीय तथा प्रदेश सरकारलाई निकासा फिर्ता भएको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा सञ्चित कोष तथा कोषतर्फ बैंक मौजदातको जम्मा ११ करोड १६ लाख ५० हजार रुपैयाँ रहेको पनि उपप्रमुख चौधरीले बताउनुभयो।

यस्तै नगर उपप्रमुख पूर्णकला चौधरीले नगरसभाको पन्ध्रौँ बैठकबाट पारित कार्यक्रम तथा बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ मा जम्मा १ अर्ब ७ करोड २७ लाख ७९ हजार रुपैयाँ बजेट पारित भएकोमा हालसम्म कुल आय ५६ करोड ४० लाख ५८ हजार अर्थात् ५२.५७% प्राप्त भइसकेको पनि उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को चालु तर्फ विनियोजित बजेट रु ६१ करोड ९१ लाख ४७ हजार मध्ये हालसम्म रु १५ करोड ८१ लाख ३० हजार अर्थात् २५.५४ प्रतिशत खर्च भएको ,यसैगरी पुँजी तर्फ विनियोजित बजेट रु ४५ करोड ३६ लाख ३२ हजार मध्ये रु १० करोड २५ लाख ३१ हजार अर्थात २२.६० प्रतिशत खर्च भएको पनि नगरसभा मार्फत जानकारी गराउनु भयो ।

यस्तै गरी मध्यबिन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा नगरपालिकाबाट सम्पादन भएका मुख्य मुख्य गतिविधिहरू संक्षेपमा राख्नुभएको थियो। नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई व्यवस्थित गर्न यस अवधिमा दुईवटा निर्देशिका र पाँचवटा कार्यविधि निर्माण गरिएको साथै एकवटा कार्यविधि संशोधन गरिएको पनि उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनतर्फ ९० अङ्क प्राप्त भएको पनि उहाँले बताउनुभयो। १५ शैयाको नगर अस्पतालको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर ७ को वडा कार्यालय भवन, पुस्तकालय भवन निर्माण भइसकेको उहाको भनाइ छ ।मध्यबिन्दु ८ को चौरङ्गी लोहासेधारा हुँदै झ्याङकट्टा सडक २७३० मिटर र वडा नम्बर १० को अल वेदर एक्सेस रोड २१३१ मिटर गरी जम्मा ५०७४ मिटर सडक कालोपत्रे भएको छ। यस्तै मध्यबिन्दु नगरपालिका स्थापना भएको दिन अर्थात् असोज १ गतेलाई स्थापना दिवसको रुपमा मनाउन सुरु गरिएको पनि उपप्रमुखको भनाइ थियो ।

स्वच्छ हराभरा सफा र सुन्दर मध्यबिन्दु निर्माण अभियान अन्तर्गत फोहर वर्गीकरण गरी संकलन तथा व्यवस्थापन कार्य सबै वडामा विस्तार गरिएको उहाँले बताउनुभयो। कुहिने फोहरको उपयोग गरी जैविक मल उत्पादन कार्य सुरु गरी हालसम्म १२ हजार किलोग्राम बिक्री भइसकेको पनि उहाँको भनाइ थियो । यस्तै बहुवर्षे आयोजनाहरू गिरुबारी खोला करिडोर र फोहरमैला व्यवस्थापन केन्द्र निर तटबन्ध निर्माण कार्य दोस्रो वर्षमा निर्माणाधीन अवस्थामा रहेका छन्। विद्यार्थीमा आफ्नो परिवार समाज र प्रकृतिसँग आपसी सम्बन्ध र अस्तित्व बोध गराई सोही अनुसारको आचरण विकास गराउने उद्देश्यले नेपालमै पहिलो पटक यस नगरपालिकामा लागु गरिएको हाम्रो खुसी पाठ्यक्रम औपचारिक शुभारम्भ भएको पनि उहाँले जानकारी गराउनु भएको थियो ।

यसैगरी २०८१ असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्था निकाय सङ्घको साझेदारीमा ७२ लाख ४७ हजार २०६ बराबरको राहत सामाग्री वितरण गरिएको पनि उपप्रमुखले बताउनुभयो। यस्तै बाढीबाट प्रभावित क्षेत्रमा घुम्ती शिविर मार्फत ९१ घरधुरीका २१३२ पशुपंक्षीहरूको निःशुल्क चेक जाँच तथा पशुपंक्षी जन्य औषधि वितरण गरिएको थियो। विपन्न परिवारलाई चिसोबाट जोगाउन मध्यबिन्दु नगरपालिका वडा नम्बर १ का २०० घरधुरीलाई न्यानो कपडा लगायतका सामग्री वितरण गरिएको पनि नगर उपप्रमुख पूर्ण कला चौधरीले बताउनुभयो ।
सामुदायिक कुकुरहरुलाई निःशुल्क रेबिज रोग विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रममार्फत २७९ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो। यस्तै नसर्ने रोगहरूको मास स्क्रिनिङ शिविरबाट ६३० जनाको नमुना सङ्कलन गरी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अन्तर्गत मध्यबिन्दु नगरपालिकाकी उपप्रमुख पूर्णकला चौधरीले चालु आर्थिक वर्षको हालसम्म आइपुग्दा नगरपालिकाबाट २०६ जनाको अनलाइन श्रम स्वीकृति भएको र ४० जना बालबालिकालाई वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने छात्रवृत्ति प्राप्तिको लागि सहजीकरण गरिएको जनाउनुभयो ।

वैदेशिक रोजगारीमा मृत्यु भएका ,बिरामी भई घर फर्केका र वैदेशिक रोजगारी सम्बन्धी ठगीका केसहरुबाट घर ,परिवार र व्यक्तिलाई बिमा सहित रु १ करोड ९ लाख आर्थिक सहायता क्षतिपूर्ति प्राप्त गर्नका लागि सहजीकरण भएको पनि जनाइएको थियो । यस्तै मध्यबिन्दु नगरपालिकाले निःशुल्क सञ्चालन गरेको शववाहन सेवाबाट हालसम्म ९४ जना मृतकका परिवारलाई निःशुल्क शववाहन सेवा प्रदान भएको पनि उपप्रमुखले बताउनुभयो । अरुणखोला तटीय क्षेत्रमा बेवारिसे रुपमा रहेका ५१ हाईवा ढुङ्गा नगरस्तरीय खोला अनुगमन समिति, सशस्त्र प्रहरी बल ,जनपथ प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको र प्रहरी चौकी परिसरमा राखी लिलामका लागि प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो । न्यायिक समिति अन्तर्गत यस अवधिमा ४३ वटा विवादमा मेलमिलाप कायम गरिएको छ भने एकवटा प्रक्रियामा रहेको पनि नगर उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।

सोह्रौँ नगरसभाको समापन कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले सर्वसम्मत रुपमा नगरसभा सम्पन्न गर्न सहयोग गर्नुभएकोमा सम्पूर्ण जनप्रतिनिधिहरु ,कार्यपालिका सदस्यहरु ,कर्मचारीहरु ,पत्रकार लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख ,उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, १५ ओटै वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment