आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025 Search
FLASH NEWS

देवचुलीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाइ सामाग्री हस्तान्तरण

    प्रकाशित २०८१ पौष २६, शुक्रबार (४ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा वातावरण अधिकार सम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपाल, इन्सेक गण्डकी प्रदेशको आयोजना साथै देवचुली १० को वडा कार्यालय र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहकार्यमा शुक्रबार देवचुली- १० मा रहेको बालिका सिकाई केन्द्रमा कार्यशाला तथा खानेपानी सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।

देवचुलीका पृथ्वी माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, मनकामना आधारभूत विद्यालय, सुर्य किरण आधारभूत विद्यालय, नव नेपाल आधारभूत विद्यालय र कावासोतीको जनकल्याण माध्यमिक विद्यालयलाई फोहर संकलन गर्ने डस्टबिन, पानी राख्ने बाल्टिन, मख, कुचो र डस्ट कलेक्टर हस्तान्तरण गरिएको इन्सेक सहजकर्ता राजु चापागाईले बताउनुभयो । उहाँका अनुसार माध्यमिक विद्यालयमा प्रति विद्यालय २० वटा डस्टबिन, ४ वटा पानी राख्ने बाल्टिन, ३५ वटा मख, १० वटा कुचो र १० वटा डस्ट कलेक्टर वितरण गरिएको हो भने आधारभूत विद्यालयमा १० वटा डस्टबिन, ३ वटा पानी राख्ने बाल्टिन, २५ वटा मख, ६ वटा कुचो र ६ वटा डस्ट कलेक्टर वितरण गरिएको हो ।


सामाग्री हस्तान्तरण कार्यक्रम पुर्व भएको वातावरण संरक्षण , खानेपानी र सरसफाइका विषयमा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव इन्द्रमणी भुसालले सहजीकरण गर्नुभएको थियो । वातावरण संरक्षणमा सरोकारवालाको भुमिका, वातावरणको अधिकार लगायत खानेपानीको सही रुपमा प्रयोग, मुहान क्षेत्र संरक्षण र सरसफाइका विषयमा उहाँले सहजीकरण गर्नुभएको थियो । विद्यालय र समुदायमा सरसफाइका लागि विद्यार्थीको भुमिका समेत उहाँले जानकारी गराउनुभएको थियो ।

देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले ६ वटा विद्यालयमा सचेतनामुलक कार्यक्रम अन्तरगत वातावरण अधिकार सम्बन्धि कार्यशाला र सरसफाइ सामाग्री वितरणको कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै समुदायमा सचेतनाका अभियानमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । देवचुली नगरपालिकालाई वातावरणमैत्री बनाउनका वडा तहसम्म काम गरिरहेको र सबै पक्ष समेटेर नीति तथा कार्यक्रम तयारी गरि आवश्यक पर्ने कानुन निर्माण लागि कार्यपालिका छ्लफल गरिने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका वडा नम्बर- ९ का वडा अध्यक्ष बलिराम सापकोटाले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताउनुभयो । घर, समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सापकोटाले बताउनुभयो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले सचेतनामुलक कार्यक्रममा सहभागी अवसर प्राप्त गरेको बताउँदै यस्ता कार्यक्रमबाट समुदायमा सचेतना अभिवृद्धि सहयोग पुग्ने बताउनुभयो । सामाजिक कार्य गर्नका लागि इन्छाशक्ती आवश्यक पर्ने र सामाजिक अभियानलाई सबैको सहयोग हुनुपर्ने उहाँको भनाई छ । आफ्नो संस्थाले सरसफाइ क्षेत्रमा समेत काम गरिरहेकाले वातावरण संरक्षणमा सबैको चासो हुनुपर्ने बताउनुभयो ।

देवचुली मानवअधिकार समूहका अध्यक्ष कृष्ण विकले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मानव अधिकार समूहद्वारा स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको बिकले बताउनुभयो ।

देवचुली मानव अधिकार समूहका अध्यक्ष कृष्णबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्य रहेको थियो । त्यसै गरि नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, उपाध्यक्ष दुर्गा विष्ट, सचिव इन्द्रमणी भुसाल, देवचुली १० का वडा सदस्य विष्णुमाया पंगेनी, रिता सुनार , कावासोती १ का वडा सदस्य ओम थापा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका लेखा समितिका संयोजक रत्ना भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यहरु, जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत राधा बोटे, आशा बिक, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण जागृति बाल तथा युवा सरोकार नेपालका सदस्य दिपक न्यौपानेले गर्नुभएको थियो ।

Write your Comment