देवचुली। देवचुली नगरपालिका वडा नम्बर ३ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजना र दिव्यपुरी महिला स्वाबलम्बन बहुउदेश्यीय सहकारी संस्था देवचुली ३ को समन्वयमा बिहीबार दिव्यपुरी खानेपानीको सभाहलमा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर गरिएको हो ।
देवचुली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ पौडेलको अध्यक्षतामा भएको शिविरमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, डा. समीर शर्मा, देवचुली स्वास्थ्य शाखा सिनियर अहेव अधिकृत पिताम्बर भुर्तेल, सिनियर अनमी निरीक्षक सिता न्यौपाने लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।
देवचुली नगरबासीको स्वास्थ्य सेवाका लागि स्वास्थ्य शाखाले योजनाबद्ध रुपमा काम गरिरहेको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले गाउँ गाउँमा स्वास्थ्य सेवाहरु विस्तार गरिरहेको बताउँदै सहज रुपमा आफ्नो स्वास्थ्य समस्याको उपचार गर्न उहाँले आग्रह समेत गर्नुभएको थियो । स्वास्थ्य शाखाले यस वर्ष नगरपालिकाका अन्य वडामा समेत स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने जानकारी दिनुभयो ।
देवचुली नगरपालिका १ देखि ५ सम्मका महिलाहरुलाई पायक पर्ने गरि दिव्यपुरी खानेपानीको सभाहलमा बिहीबार भएको शिविरमा १२७ जना महिलाहरुले सेवा लिएका थिए । जसमध्ये २ जनामा पाठेघर खसेको, १ जनामा व्रेस्टमा मासु पलाएको , ७ जनामा पाठेघरमा मासु पलाएको र १४ जनालाई रिफर गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। शिविरमा देवचुली नगर अस्पतालका डा. समीर शर्माले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिनुभएको थियो । स्वास्थ्य शिविर नि: शुल्क औषधिसमेत वितरण गरिएको थियो । स्वास्थ्य शाखाद्वारा नगरका अन्य स्थानमा समेत आवश्यकताका आधारमा शिविर संचालन गर्ने र आगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ।