आज:  २०८१ पौष २५, बिहिबार | Thu, 09, Jan, 2025 Search
FLASH NEWS

देवचुली १७ मा दोस्रो पिप्रहर माघी मेला हुने

    प्रकाशित २०८१ पौष २४, बुधबार (१ दिन अघि)


राजु चापागाई, देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने भएको छ। पिप्रहर सामुदायिक होमस्टे ग्राम, आमा समूह, होटल व्यवसायी तथा युवाहरुको प्रतिनिधिमुलक संयुक्त भेलाको निर्णय अनुसार पौष मसान्तदेखि माघको २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिवसीय दोस्रो माघी मेला आयोजना गर्न लागिएको हो।

ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न,स्थानीय रैथाने कृषि उत्पादन बढावा दिन,स्थानीय श्रम,सीपको सम्वर्द्धन गर्न,परम्परागत खानाका परिकारहरु बिक्री गरि स्वरोजगारलाई टेवा दिन,आय आर्जन तथा जिविकोपार्जनको विकास गर्न,खेलको विकास गरि युवाहरुको व्यक्तित्व विकास गर्न,स्थानीय कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक रिमबहादुर आलेले जानकारी दिए।

मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन,मेला अवधिभर भलिबल प्रतियोगिता, अन्तर आमा समुहको लोक गीत प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने,विभिन्न उद्योग व्यवसायहरुको उत्पादन बिक्रीका लागि प्रदर्शन,मेलाको अवधिमा होटल,होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरि आउने पाहुनालाई विशेष छुट प्रदान गरिने,मेला अवधिभर जंगल सफारीको लागि अग्रिम बुकिङ्ग गर्नेहरुलाई विशेष छुट दिईने लगायत रहेको संयोजक आलेले बताए ।

तीन दिनसम्म संचालन हुने मेलामा ९/१० हजार मानिसहरु मेलाको अवलोकनमा आउने आयोजकको आकलन छ। मेलाका लागि करिब ९ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिए। मेलामा स्थानीय समुदाय,स्थानीय व्यापारीहरु व्यक्तिगत वा समुहगत रुपमा व्यापारिक काममा संलग्न हुने लक्ष्य राखिएको छ।

Write your Comment