आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025 Search
FLASH NEWS

३० औं जिल्ला स्तरीय भलिबल प्रतियोगिता: पुरुषतर्फ कावासोती १० र महिलातर्फ देवचुली ९ लाई उपाधि

    प्रकाशित २०८१ पौष १५, सोमबार (५ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा संचालित ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ कावासोती १० रतवल र महिलातर्फ देवचुली ९ ले जितेको छ ।

पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा सोमबार घुमाउरी खेल मैदानमा भएको पुरुष तर्फको फाइनल खेलमा रतवलले आयोजक देवचुली ९ लाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो भने महिला तर्फ देवचुली ९ ले पृथ्वी माध्यमिक विद्यालयलाई हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा पुरुषतर्फ हुप्सेकोट ४ शंखदेव तेस्रो भएको छ भने महिला तर्फ मध्यबिन्दु नगरपालिका तेस्रो भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने कावासोती १० रतवलले नगद ४५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता देवचुली ९ ले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यसै प्रतियोगितामा तृतीय हुने शंखदेवले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा महिलातर्फ प्रथम हुने देवचुली ९ ले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता हुने पृथ्वी माध्यमिक विद्यालयले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यसै प्रतियोगितामा तृतीय हुने मध्यबिन्दु नगरपालिकाले नगद ५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।

युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा नगर प्रवक्ता,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment