नवलपुर । बौदीकाली गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बौदीकाली गाउँपालिका र कृष्ण गण्डकी सहकारी संस्थाको संयुक्त आयोजनामा बिहिबार भएको छैटौँ रक्तदान कार्यक्रममा २२ जना महिला र ८१ जना पुरुष गरि १ सय ३ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी बौदीकाली र रकुवा प्राथमिक स्वास्थ्य केन्द्रको सहयोग एवं नेपाल रेडक्रस सोसाइटी कावासोतीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
कृष्ण गण्डकी सहकारी संस्थाका अध्यक्ष उज्वल ओझाको अध्यक्षतामा भएको कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि बौदीकाली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी सारु, प्रमुख प्रशासकिय अधिकृत उज्वल बहादुर बस्नेत, वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
रक्तदाता परिवारको लागि रगत आवश्यक परेमा रगतको बिल बराबरको रकम संस्थाले फिर्ता गर्ने घोषणा गरिएको कृष्ण गण्डकी सहकारी संस्था लिमिटेडका अध्यक्ष उज्ज्वल ओझाले जानकारी दिनुभयो । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।