देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बिहीबार देवचुली ११ विजयी भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ को सुर्य किरण आधारभूत विद्यालयको खेलमैदानमा संचालन भएको खेलमा देवचुली ११ सेतोका विरुद्ध देवचुली ७ बिचको खेलमा देवचुली ११ सेतो विजयी भएको हो ।
देवचुली ११ सेतोले देवचुली ७ लाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट २/२ को बराबरी गोल भए सँगै खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा देवचुली ११ सेतोका समीर श्रेष्ठले २ गोल गरेका थिए भने देवचुली ७ का साजन बुढाथोकी र आकाश थापाले १/१ गोल गरेका थिए । आजको खेलमा देवचुली ११ सेतोका समीर श्रेष्ठ म्यान अफ दि म्याच भएका छन् । प्रतियोगिता अन्तरगत शनिबार देवचुली ११ सेतोका विरुद्ध देवचुली १६ बीच पहिलो सेमिफाइनल र देवचुली १ का विरुद्ध देवचुली १३ बीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।
देवचुली नगरपालिकाका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो ।