आज:  २०८१ पौष ९, मंगलबार | Tue, 24, Dec, 2024 Search
FLASH NEWS

देवचुलीका ३७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    प्रकाशित २०८१ पौष ८, सोमबार (१२ घण्टा अघि)


नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ५ का ३७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोग र देवचुली नगरपालिका वडा नम्बर ५ को समन्वयमा श्री नेपाल धर्ती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हो ।

देवचुली नगरपालिकामा संचालित आयआर्जन कार्यक्रम अन्तर्गत खुसी खुसी विद्यालयमा बालबालिका पुर्‍याउने अभियान अन्तर्गत यो शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो । सो विद्यालयमा अध्ययनरत ३७ जना छात्रछात्रालाई झोला, स्विटर, टोपी, कपि, पेन्सिल, वितरण गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालले बालबालिका, किशोरकिशोरी, आयआर्जन, महिला र वातावरणको क्षेत्रमा काम गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै नगरले पनि बालबालिकाको लागि चौतर्फी विकासमा सहयोग पुर्‍याउन र सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई आकर्षण बढाउन विभिन्न योजना निर्माण गरिएको देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । बालबालिका नै लगानीको मुख्य आधार भएकाले नगरपालिकाले विशेष प्राथमिकता साथ काम गरेको र सम्रगमा नमुना पालिका निर्माणमा लागेको उहाँले बताउनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रम बोल्दै बालमैत्री परामर्शदाता खिमानन्द भुसालले संस्थाले गरेको राम्रो काममा बधाई दिदै समग्र बालबालिकाको लागि निरन्तर रूपमा लागिरहने बताउनुभयो । बालबालिकाको लागि स्थानीय सरकारसँगै अरु सरोकारवालाले समेत ध्यान दिनुपर्ने हुँदा सबैले चासो राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा देवचुली नगरपालिका ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, शिक्षा शाखाका अधिकृत नन्दलाल ढकाल, जनप्रतिनिधिहरु, अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment