देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा शनिबार देवचुली ११ रातो र देवचुली १३ विजयी भएका छन् । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ को सुर्य किरण आधारभूत विद्यालयको खेलमैदानमा संचालन भएको शनिबारको पहिलो खेलमा देवचुली १४ का विरुद्ध देवचुली ११ रातो बिचको खेलमा देवचुली ११ रातो विजयी भएको हो ।
देवचुली ११ रातोले देवचुली १४ लाई ३-२ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलमा देवचुली ११ रातोका सन्देश रानाले २ गोल र विश्व श्रेष्ठले १ गोल गरेका थिए भने देवचुली १४ का शेखर आले र सुनिल थापाले १/१ गोल गरेका थिए । आजको पहिलो खेलमा देवचुली ११ रातोका प्रितम थापा म्यान अफ दि म्याच भएका छन् ।
त्यसै गरि आज भएको देवचुली ४ का विरुद्ध देवचुली १३ बिचको खेलमा देवचुली १३ विजयी भएको छ । देवचुली १३ ले देवचुली ४ लाई ४-२ गोल अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । देवचुली १३ का चेतन मगर र ओमचन्द्र महतोले २/२ गोल गरेका थिए भने देवचुली ४ का विशाल वरमले २ गोल गरेका थिए । दोस्रो खेलमा देवचुली १३ का चेतन मगर म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत आइतबार देवचुली ५ का विरुद्ध देवचुली ७ बिच खेल हुने आयोजकले जनाएको छ ।
देवचुली नगरपालिकाका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो ।