आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

भीमसेनमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ मंसिर २८, शुक्रबार (४ महिना अघि)


देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । हाम्रो प्रयास फाउन्डेसनको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा बिहीबार भीमसेन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतना प्रदान गरिएको हो । फाउन्डेसनले बुधबार सकलादेवी माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।

विद्यालय तहमा पढ्ने विद्यार्थीहरु लागुऔषधको दुर्व्यसनमा फस्ने गरेको र समयमै सचेतना प्रवाह गर्न सके लागुऔषध दुर्व्यसनी न्यूनीकरण हुने हाम्रो प्रयास फाउन्डेसनका अध्यक्ष राकेश पन्तले जानकारी दिनुभयो । लागुऔषध दुर्व्यसनी एक प्रकारको रोग भएकाले यसबाट निस्कनका लागि स्वयं व्यक्ती नैतिक, आध्यात्मिक र भावनात्मक हिसाबले पुनःस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । आफु पनि १० वर्ष जति दुर्व्यसनमा फसेको र त्यहाँबाट निस्कन सफल भई समुदायमा सचेतना प्रवाह गर्न अभियानमा लागेको उहाँको भनाई छ ।

हाम्रो प्रयास फाउन्डेसनका अध्यक्ष राकेश पन्तको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा , विद्यालयका सहायक प्रधानाध्यापक करन खडका, इलाका प्रहरी कार्यालय रजहरका वरिष्ठ नायव निरीक्षक गोपाल बहादुर कुँवर, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले विद्यालय तहका विद्यार्थीहरुलाई सचेतना गरि लागू औषध दुर्व्यसनबाट बचाउनु पर्ने बताउनुभयो । अहिले राम्रोसँग सचेत गराउन सकेमात्र उनीहरु दुर्व्यसनमा फस्ने सम्भावना कम हुने भएकाले नगरपालिकाले सचेतना कार्यक्रमका लागि बजेट विनियोजन गरेको बताउनुभयो । नगरपालिकाका अन्य विद्यालयमा समेत सचेतना कार्यक्रमका लागि नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मनोसामाजिक परामर्शदाताहरु मधु लामिछाने र मनिष न्यौपानेले लागुऔषधको दुर्व्यसनमा कसरी फस्न पुगिन्छ र त्यहाँबाट निस्कन के के गर्ने लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । त्यसै गरि इलाका प्रहरी कार्यालय रजहरका वरिष्ठ नायव निरीक्षक गोपाल बहादुर कुँवरले लागुपदार्थ सेवन, ओसारपसार गरेको थाहा भएमा हुने कानुनी सजायको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । त्यसै गरि हाम्रो प्रयास फाउन्डेसनका अध्यक्ष राकेश पन्तले आफु दुर्व्यसनमा फस्दा आफ्ना कठिन भोगाईहरुको बारेमा जानकारी सहित सचेतना प्रवाह गर्नुभएको थियो ।

कोही व्यक्तिहरु पनि लागु औषधको दुर्व्यसनमा फस्न नहुने र यदि फसेमा त्यस्ता व्यक्तिहरुको सुधार सम्भव भएको हाम्रो प्रयास फाउन्डेसनका सचिव अर्मान मियाले बताउनुभयो । देवचुली १० मा कार्यालय रहेको फाउन्डेसनले कुलतमा फसेकाहरुलाई परामर्श दिनुका साथै विद्यालय तथा समुदायका लागुऔषध प्रयोगबाट हुने मानसिक शारीरिक क्षतिको बारेमा सचेतना प्रवाह गर्दै आइरहेको मियाले बताउनुभयो ।

Write your Comment