देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर फाइनल प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा अभिषेक चर्च रजहरका विरुद्ध सेन्टर कलेज अठाइस बिगाहाबिच मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।
अभिषेक चर्च रजहरले सेन्टर कलेज अठाइस बिगाहालाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट २-२ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा अभिषेक चर्च रजहरका सुर्जित बुढाथोकीले २ गोल गरेका थिए भने सेन्टर कलेज अठाइस बिगाहाबाट आदित्य शाक्यले १ गोल गरेका थिए । मंगलबारको खेलमा अभिषेक चर्च रजहरका सुर्जित बुढाथोकी म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा बुधबार योङ ब्वाइज चितवनका विरुद्ध गैंडाकोट फुटबल क्लबका बिच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।