देवचुली । बौदीकाली गाउँपालिकामा रहेको डेढगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को प्राविधिक धार तर्फ उत्कृष्ट नतिजा हासिल गर्दै जिल्ला प्रथमको उपाधि प्राप्त गरेको छ। विद्यालयले कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक कृषि वाली विज्ञानको शिक्षण सञ्चालन गर्दै आएको छ। विद्यालयमा कक्षा ९ सम्म अंग्रेजी माध्यमबाट शिक्षण गरिएको र आगामी वर्ष क्रमश माथिल्ला कक्षाहरुमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्दै जाने विद्यालयले जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा २०८० मा विद्यालयबाट नियमित तर्फ जम्मा १४ जना विद्यार्थी सम्मलित थिए भने सम्मिलित सबै जना विद्यार्थी उत्तीर्ण भएका थिए। विद्यालयले आफ्नो शैक्षिक उत्कृष्टताको कदर स्वरूप जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईबाट सम्मान प्राप्त गरेको हो। हालै मात्र उक्त विद्यालयबाट कक्षा १२ उत्तीर्ण ३ जना विद्यार्थीहरुले कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्विद्यालय तर्फ बि एससी एजी अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए।
सम्मान कार्यक्रम प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, जिल्ला स्थित शिक्षकका विभिन्न संघ तथा संगठनका प्रमुखहरू, जिल्ला शिक्षा समिति पदाधिकारी, देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख र जिल्लाका माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा एक भव्य समारोहबीच सम्पन्न भएको थियो।
विद्यालयको यो उपलब्धिले सम्पूर्ण गाउँपालिकालाई नै गर्व महसुस गराएको र विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, र अभिभावकहरूको, अथक प्रयास र बौदीकाली गाउँपालिका, वडा कार्यालय र शिक्षाप्रेमी, विद्यालयका शुभचिन्तक तथा सरोकारवाला सबैको सहयोगका कारण यस प्रकारको सफलता हासिल भएको विद्यालयले जनाएको छ । विद्यालयले भविष्यमा पनि गुणस्तरीय र प्राविधिक शिक्षामा ध्यान केन्द्रित गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासको प्रतिबद्धता व्यक्त गरेको छ।