देवचुली । बौदीकाली गाउँपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बौदीकाली गाउँपालिकाको आयोजना तथा धर्मात्मा माध्यमिक विद्यालयको संयोजनमा मंसिर १२ गतेदेखि १४ गतेसम्म सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड(अन्तर विद्यालय स्तरीय खेलकुद) प्रतियोगितामा डेढगाउँ माध्यमिक विद्यालय प्रथम भएको हो । डेढगाउँ माध्यमिक विद्यालयले १० स्वर्ण, १ रजत र ७ कास्य सहित प्रथम भएको हो ।
गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा धर्मात्मा माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र ५ कास्य सहित द्वितीय भएको छ भने शारदा माध्यमिक विद्यालयले ५ स्वर्ण, ७ रजत र १ कास्यसहित तृतीय भएको छ ।
बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाको अध्यक्षतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा बौदीकाली गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
मंसिर १२ गतेदेखि १४ गतेसम्म संचालित प्रतियोगिताको पुरस्कार शुक्रबार वितरण गरिएको हो । कार्यक्रममा पदक जित्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।