कावासोती । कावासोती १२ मा ज्येष्ठ नागरिक सम्मान, आशीर्वाद ग्रहण तथा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजना र वडामा रहेका चार वटा विद्यालयको समन्वयमा शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा शुक्रबार कार्यक्रम गरिएको हो ।
कावासोती नगरपालिका वडा नम्बर १२ बाट आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित बजेटबाट कार्यक्रम गरिएको वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई निरन्तर प्रत्येक वर्ष वडाबाट सम्मान कार्यक्रम गरिएको बताउनुभयो । बालबालिकाहरुलाई पू्र्खाका अनुभव, ज्ञान तथा सिकाइको जानकारी गराउनुका साथै ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्छ भन्ने सिकाउनका लागि समेत कार्यक्रम गरिएको उहाँको भनाई छ। ज्येष्ठ नागरिकलाई वडाबाट गरिने सम्मान भन्दा पनि उही उमेर समुहका ज्येष्ठ नागरिकहरुको भेटघाटका लागि समेत कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलको प्रमुख आतिथ्यता र कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिकासँग ज्येष्ठ नागरिक संवाद कार्यक्रम मार्फत उहाँहरुका अनुभव, भोगाई र सिकाईलाई नयाँ पुस्तामा जानकारी गराउन र बालबालिकालाई नैतिकवान बनाउन प्रेरित गर्ने बताउनुभयो । वडाबासीले राम्रो व्यक्तिलाई छानेर निर्वाचित गरेको र वडाले निकै राम्रो काम गरेको उहाँले बताउनुभयो । भविष्यमा ज्येष्ठ नागरिक सबै भइने भन्दै उहाँले बालबालिकालाई ज्येष्ठ नागरिकलाई आदर, सत्कार र सम्मान गर्नुपर्छ भन्ने सिकाइको अवसर भएको भनाई राख्नुभएको थियो । त्यसै गरि कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले आगामी वर्षबाट विद्यार्थीहरुसँग ज्येष्ठ नागरिकबीचको अन्तर पुस्ता संवादको कार्यक्रम कावासोती नगरपालिकाका सबै वडामा गर्नुपर्ने र नगरपालिकाबाट सो कार्यक्रमका लागि आवश्यक सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कावासोती नगरपालिका वडा नम्बर १२ मा ८० वर्ष उमेर पुगेका ४८ जना ज्येष्ठ नागरिक र १ जना अंपागता भएका ज्येष्ठ नागरिकलाई दोसल्ला सहित घ्यु, मह, फलफुल लगायत प्रदान गरि सम्मान गरिएको थियो। कार्यक्रम उपस्थित अतिथी, बालबालिकाहरुमार्फत ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । पिठौली स्वास्थ्य चौकीद्वारा ज्येष्ठ नागरिकको सुगर परीक्षण र प्रेसर चेक जाँच गरिएको हो ।
कार्यक्रममा कावासोती १२ का पुर्व वडा अध्यक्ष खेमप्रसाद काफ्ले, शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, राजरत्न आधारभूत विद्यालयका प्रधानाध्यापक भोजबहादुर चौधरी, सन्तुदेवी राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक अमृतकुमारी गुरौ, कावासोती नगरपालिका ज्येष्ठ नागरिक मंचका सदस्य चुमिलाल शर्मा, वडा सदस्यहरु, निवर्तमान वडा सदस्यहरु, वडामा रहेका विद्यालयका शिक्षक, विद्यार्थी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारको उपस्थिति रहेको थियो। कार्यक्रममा शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शान्ति निकुञ्ज माध्यमिक विद्यालयका शिक्षक गिता न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।