आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

देवचुली १२ मा नेतृत्व विकास, माइन्युट लेखन तथा उदघोषण तालिम सुरु

    प्रकाशित २०८१ मंसिर २, आईतबार (३ दिन अघि)


देवचुली । देवचुली १२ मा नेतृत्व विकास, माइन्युट लेखन तथा उदघोषण तालिम सुरु गरिएको छ । देवचुली १२ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा टोल विकास संस्था, आमा समुहका पदाधिकारी र दलित समुदायको प्रतिनिधिहरुलाई देवचुली १२ को दिव्य ज्योति आधारभूत विद्यालयको सभाहलमा तालिमको सुरु गरिएको हो ।


देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षता भएको तालिम उदघाटन सत्रमा देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि उदघाटन सत्रमा देवचुली १२ का वडा सदस्य धर्माकुमारी न्यौपाने, दिवाकर तिमिल्सिना, दिव्य ज्योती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेल, प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठ , पुर्व जनप्रतिनिधि लगायत टोल विकास संस्था, आमा समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

टोल विकास संस्था, आमा समुहका पदाधिकारीहरुलाई संस्थागत नेतृत्व विकास गराउन र माइन्युट लेख्ने सीप सिकाउँदै वडामा हुने विविध कार्यक्रम संचालन गर्नका लागि सहयोग पुर्‍याउन तालिमको आयोजना गरिएको देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिनुभयो । वडाले आर्थिक वर्ष २०८१/०८२ का लागि लक्षित समुहलाई विनियोजन गरेको बजेटबाट तालिम संचालन गर्न लागिएको र चार दिनसम्म नेतृत्व विकास, माइन्युट लेखन र उदघोषण तालिम राखिएको उहाँले बताउनुभयो ।


तालिमको उदघाटन सत्रमा बोल्दै नगर प्रमुख न्यौपानेले वडाले टोलबासीको नेतृत्व विकास सिकाउनका लागि तालिमका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । संघसंस्थाका विविध तथ्यांकहरु अभिलेखिकरण आवश्यक रहेकोले माइन्युट लेख्न प्रक्रियासँगै उदघोषण तालिमले सबैलाई सिकाई हुने उहाँले बताउनुभयो ।

दिव्य ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेलले टोल विकास संस्था, आमा समुहहरुले हरेक गतिविधिहरु अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो । अहिले गरिएका माइन्युटहरु भविष्यका लागि महत्त्वपूर्ण हुने भएकाले सो सम्बन्धि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।


वडामा रहेका ७ वटा टोल विकास संस्थाका पदाधिकारी, १० वटा आमा समुहका पदाधिकारी लगायत ४५ जनाको सहभागिता रहेको तालिमको पहिलो दिन नेता र नेतृत्वका विषयमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सहजीकरण गर्नुभएको थियो । तालिमको उदघाटन सत्रमा वडा सदस्य धर्माकुमारी न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य फुलमाया विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

Write your Comment