आज:  २०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025 Search
FLASH NEWS

प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता संचालनका लागि सरोकारवालासँग अन्तरक्रिया

    प्रकाशित २०८१ मंसिर १, शनिबार (२ महिना अघि)


देवचुली । प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता संचालनका विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । शान्तिदिप युवा क्लब देवचुली १० को आयोजनामा मंसिर ७ गतेबाट संचालन हुन लागेको प्रतियोगितालाई सफल बनाउनका लागि नगर खेलकुद विकास समितिका पदाधिकारी, नगरभित्रका वडा खेलकुद विकास समितिका पदाधिकारी , देवचुली १० का टोल विकास संस्था, आमा समुहका प्रतिनिधिसँग छ्लफल गरिएको हो ।

शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरको अध्यक्षतामा भएको छ्लफलमा देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १० का वडा सदस्यहरु विष्णुमाया पंगेनी, रिता सुनार, नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्ले, सदस्य चिरञ्जीवी पाण्डे, वडा खेलकुदका अध्यक्षहरु, टोल विकास संस्थाका अध्यक्षहरु लगायतका उपस्थिति रहेको थियो ।

देवचुली नगरमा नै सर्वाधिक धन राशिको फुटबल प्रतियोगिता संचालन गर्न लागिएको र प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने गरि तयारी गरिएकाले सरोकारवालालाई जानकारी सहित खेल सफल बनाउनका लागि सहकार्यका लागि छ्लफल कार्यक्रम गरिएको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले जानकारी दिनुभयो । देवचुली नगरपालिकाको नगरस्तरीय रंगशालामा १६ टिमको सहभागितामा प्रथम देवचुली गोल्डकप गरिन लागेको साथै प्रतियोगिताको प्रथम टिमले नगद २ लाख ७५ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने र द्वितीय हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने उहाँले बताउनुभयो ।

शान्तिदिप युवा क्लबले विगतमा पृथ्वी कप, वडा अध्यक्ष कप, मेयरकप फुटबल प्रतियोगिता संचालन गरिसकेको र यस वर्षबाट देवचुली गोल्डकप संचालन गर्न लागेको वडा युवा तथा खेलकुद विकास समिति देवचुली १० का अध्यक्ष गनबहादुर रानाले बताउनुभयो । वडामा नवलपुरकै दोस्रो सर्वाधिक धन राशिको पुरस्कार भएको खेलकुद प्रतियोगिता हुन लागेकोले वडा खेलकुदको साथ र सहयोग रहने उहाँले बताउनुभयो ।

देवचुली नगरमा निरन्तर संचालन गर्ने गरि सुरु गरिएको देवचुली गोल्डकपलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताउनुभयो । वडा कार्यालयले प्रतियोगिता संचालनका लागि आवश्यक सहयोग रहने र नगर कार्यपालिकामा समेत समन्वय गर्ने उहाँले बताउनुभयो ।

छ्लफलमा प्रतियोगिता सफल बनाउन सबैको सहयोग रहने बताएका छन् । देवचुली युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्ले, नगर युवा तथा खेलकुद विकास समितिका सदस्य चिरञ्जीवी पाण्डे, देवचुली ९ का वडा तथा खेलकुद विकास समितिका अध्यक्ष कृष्ण आले मगर, देवचुली १७ का वडा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमाल लगायतले खेल सफल बनाउन सहयोग रहने उनीहरुले बताए।

Write your Comment