आज:  २०८१ पौष ११, बिहिबार | Thu, 26, Dec, 2024 Search
FLASH NEWS

देवचुलीको मौलाथुम्कीमा एक घर एक धारा जडान

    प्रकाशित २०८१ कार्तिक २३, शुक्रबार (१ महिना अघि)


राजु चापागाई, देवचुली। देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको मौलाथुम्की गाउँमा एक घर एक खानेपानीको धारा जडान गरिएको छ । खोला तथा गाउँ नजिकै रहेको टंयाकीबाट पानी बोक्ने बाध्यता रहेको मौलाथुम्कीबासीलाई अहिले घर घरमा खानेपानीको पहुँच पुगेको छ ।

स्थानीय भिमकुमारी लुँगेलीले अहिले घरमा धारोमा पानी आएसँगै पहिले आफुहरुले गरेको दुख बिर्सिएको बताइन् । सानै उमेरदेखि खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकोमा अहिले आफुहरुको दैनिकी नै फेरिएको बताइन् । ` एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारो आएपछि खेतीपाती र पशुपालन समय दिन सकिने भयो ´ उनले सुनाइन् ।

घरमै धारो अनि चौबीसै घण्टा पानी भएपछी दैनिक काम गर्न सहज भएको लालमाया बरालले बताइन् । आफ्नै घरको धारामा भाडा माझिरहेकी उनले पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको बताइन् । पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीबासीको अहिले घर घरमा तरकारीलगायत अन्य खेतीलाई सहज भएको र समयको समेत बचत भएको उनको भनाइ छ ।

देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको सहयोग स्थानीयको श्रमदानमा रु १५ लाख ३९ हजारको लागतमा एक घर एक धारा निर्माण गरिएको हो । स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमुना गाउँ परियोजनासँग सहकार्य गरि खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । नगरका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्‍याउनका लागि नगरपालिकाले विभिन्न संघसंस्थासँग हातेमालो गर्दै काम गरिरहेको उनले बताए ।

पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन निकै सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताए । `पहिला नगरपालिकाको सानो खानेपानी टंयाकी बनाइएको थियो, गाउँको सबै त्यहाँबाट डोकोमा पानी बोकेर लैजान पर्ने बाध्यता थियो, प्रत्येक घरमा ८/१० गाग्री पानी चाहिने र बिहान बेलुका २/३ घण्टा समय पानी बोक्नमै जान्थ्यो´ उनले भने । अहिले सबैको घरमा तरकारी उत्पादन भएपछी तरकारी किनेर खानुपर्ने बाध्यता हटेको उनले बताए । `बाटोको छेउमा चरनमा जाने पशुहरुका लागि पानी खान मिल्ने डुंड बनाइएको छ`, उनले भने- ` गाउँमा ३ घरमा मात्र शौचालय भएकोमा अहिले परियोजनाको सहयोगमा बाँकी ६ घरमा समेत शौचालय निर्माण गरिएको छ ।´

देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइका अभियान संचालन गरेको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताए। परियोजनाले देवचुली ५ र ६ का ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाई सम्बन्धि अभियानहरु संचालन गर्दै आइरहेको छ ।

देवचुली नगरपालिका वडा नम्बर ६ को मुण्डेबाट किर्तीपुर बन्दीपुर हुँदै मौलाथुम्की पुग्न सकिन्छ भने केउरानीबाट कदमपुर हुँदै कच्ची बाटो हुँदै जान सकिन्छ। मौलाथुम्की मुण्डेबाट १० किमिको दुरीमा रहेको छ ।

Write your Comment