देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा पृथ्वी समाज सेवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा नव बिहानी युवा क्लब डण्डाका विरुद्ध पृथ्वी समाज सेवा क्लबबीच भएको खेलमा पृथ्वी समाज सेवा क्लब विजयी भएको हो ।
पृथ्वी समाज सेवा क्लबले नव बिहानी युवा क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको हो । सोमबारको खेलमा पृथ्वी समाज सेवा क्लबका गोलरक्षक समीर महत्तो म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।
प्रतियोगिता अन्तरगत मंगलबार अभिषेक चर्च रजहरका विरुद्ध साथीभाई फुटबल क्लबबीचको खेल हुने आयोजकले जनाएको छ ।