देवचुली । देवचुली नगरपालिकामा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्याङ्जा हरिनास-१ साल डाँडा निवासी हाल देवचुली-९ विशालटारमा भाडामा बस्ने २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो ।
मानन्धरलाई देवचुली-९ निवासी ३० वर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । गएराति नेपालीले मानन्धरलाई धारिलो हतियार प्रहार गरी फरार भएको र उनको खोजतलासको क्रममा राति नै कावासोती-१६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारको क्रममा राति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । श्रीमती, छोरी सहित साँझको समयमा हिडेका मानन्धरलाई अर्जुनले धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि गम्भीर घाइते भएका उनलाई श्रीमती र स्थानीयले तत्कालै उपचारका लागि भरतपुर लगेका थिए । मानन्धरको उपचारको क्रममा निधन भएको जनाइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।