आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

कावासोती नगरपालिकामा खेलकुद शिक्षक प्रशिक्षण सुरु

    प्रकाशित २०८१ कार्तिक ९, शुक्रबार (४ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिकामा खेलकुद शिक्षक प्रशिक्षण सुरु गरिएको छ । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा जिल्ला खेलकुद विकास समिती नवलपुरको समन्वय र नवदुर्गा युवा क्लब तथा नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको व्यवस्थापनमा नवदुर्गा खेलमैदानमा शुक्रबार र शनिबार दुईदिनसम्म खेलकुद शिक्षकहरुलाई प्रशिक्षण गरिएको हो ।


कावासोती नगरपालिका भित्र रहेका विद्यालयका खेलकुद शिक्षकहरुलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाइने सम्पुर्ण खेलहरुको बारेमा प्रशिक्षण दिनका लागि दुई दिनसम्मको प्रशिक्षण राखिएको कावासोती खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । दुई दिनसम्म एथलेटिक्स, भलिबल, कबड्डी र खोखो खेलको बारेमा प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।

कावासोती खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटनमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा कावासोती २ का वडा अध्यक्ष शिव पाण्डे, कार्यपालिका सदस्य सोमन्ती सारु, कावासोती नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन लगायत विद्यालयका खेल शिक्षकहरुको उपस्थिति रहेको थियो ।


दुईदिनसम्म वरिष्ठ एथलेटिक्स प्रशिक्षक मोहन घले, पुर्व राष्ट्रिय खेलाडी तथा एथलेटिक्स प्रशिक्षक सिद्धान्त अधिकारी, पुर्व राष्ट्रिय खेलाडी तथा एथलेटिक्स प्रशिक्षक सुरेन्द्र थनेत, राष्ट्रिय भलिबल रेफ्री तिलबहादुर खन्दुलुक, कबड्डी प्रशिक्षक यानीमाया आले, खो खो प्रशिक्षक महिमा थनेत र प्रियंका महतोले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा कावासोती नगरपालिकाभित्रका ५० भन्दा बढी विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमको उदघाटन सत्रमा कावासोती नगरपालिका खेलकुद विकास समितिका उपाध्यक्ष तिर्सन घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो भने समितिका सदस्य सचिव सिताराम महतोले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Write your Comment