आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024 Search
FLASH NEWS

अमेरिकासँगको सिरिजमा नेपालको ‘क्लिन स्विप’

    प्रकाशित २०८१ कार्तिक ५, सोमबार (१ दिन अघि)


काठमाडौं । अमेरिकाविरुद्धको तीन टी–२० आई शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । सोमबार बिहान डालासमा नेपालले अमेरिकालाई ८ विकेटले हरायो । योसँगै नेपालले शृंखला ३–० ले जितेको हो ।

नेपालले शृंखला एक खेलअघि नै २–० ले जितिसकेको थियो । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भयो । अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अर्को सिरिज खेल्नेछ ।

टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले १८.४ ओभरमा २ विकेट गुमाउँदै जित निकाल्यो ।नेपालको लागि ओपनर आसिफले ३८ बलमा ५ चौका र २ छक्कासहित ५० रन बनाए । कुशल भुर्तेलले ३२ बलमा ४० रन बनाए । कुशल मल्लले ३० बलमा ४४ रन जोडेका हुन् । यसअघि ओपनर अनिल शाहले १३ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका भुर्तेल र चौथो नम्बर क्रिजमा आएका मल्लले अर्धसतकीय साझेदारी गरेका हुन् ।

यसअघि अमेरिकाको लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रन जोडे । नेपालका सोमपाल कामीले तीन विकेट हात पारे । रिजन र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो ।

Write your Comment