आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुली ९ मा रहेको घुमाउरी सामुदायिक वनको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०८१ कार्तिक १, बिहिबार (२१ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार घुमाउरी पिकनिक स्पटमा वनको साधारणसभा गरिएको हो।

घुमाउरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पार्वती राउलको अध्यक्षतामा भएको साधारणसभामा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि सव डिभिजन वन कार्यालय देवचुली बुलिङ्टारका वन अधिकृत वसन्त दाहाल, वडाका राजनैतिक दलका प्रतिनिधि, कार्यपालिका सदस्य मधुमाया गुरुङ, जयबहादुर बिक, स्थानीय महासंघ देवचुलीका अध्यक्ष कृष्णप्रसाद तिवारी लगायतको विशेष उपस्थिति रहेको थियो।

साधारसभाबाट समुहका अध्यक्ष पार्वती राउलले प्रस्तुत गरेको वार्षिक कार्ययोजना, सचिव कुन्तीदेवी काफ्ले न्यौपानेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष सोमबहादुर सेन्चुरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरिएको आयोजकले जनाएको छ । साधारणसभाको बन्द सत्रमा कटान सदुपयोग, विपन्न तथा असहाय उपभोक्ताका लागि सहुलियत दरमा काठ दाउरा वितरण गर्ने, वन उपभोक्ता समितिको सम्पुर्ण सदस्यहरु,कर्मचारी र काम गर्ने कामदारहरुको बिमा गर्ने, पिकनिक स्पटमा बाल उद्यान तथा नयाँ संरचना निर्माण गर्ने, पिकनिक स्थल संरक्षणका लागि पर्खाल वा तारजाली गर्ने लगायतका विषयमा छलफल गरि निर्णय गरिएको घुमाउरी सामुदायिक वन उपभोक्ता अध्यक्ष पार्वती राउलले जानकारी दिनुभयो ।

साधारण सभाको खुला सत्रमा बोल्दै प्रमुख अतिथि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले वनले संचालन गरेको पिकनिक स्पटको सही रुपमा व्यवस्थापन गर्दै पर्यटनका पुर्वाधार निर्माणका लागि सरोकारवालासँग समन्वय गरि काम गर्न आग्रह गर्नुभएको थियो । वन समितिले महिलाहरुलाई उद्यममा जोड्न सक्ने गरि कार्यक्रम तय गर्न र आगामी दिनमा साझा कार्यक्रममा सहकार्य गर्नका लागि वडा तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश व्यक्ति हरुले वनले उपभोक्ताको हितमा रहेर सामाजिक गतिविधि गर्नुपर्ने, पिकनिक स्पटमा पुर्वाधार थप गर्नुपर्ने लगायतका विषयमा भनाई राख्दै वनलाई आगामी कार्ययोजनामा सफलता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

साधारणसभामा वडा सदस्यहरु, विभिन्न सामुदायिक वनका अध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरु,वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो।घुमाउरी सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार विष्णुप्रसाद भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारणसभाको समितिका सचिव कुन्तादेवी काफ्लेले सहजीकरण गर्नुभएको थियो।

Write your Comment