आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

पृथ्वी मगर समाजको प्रथम साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ आश्विन १६, बुधबार (३ दिन अघि)


देवचुली । देवचुली १० मा रहेको पृथ्वी मगर समाजको प्रथम साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पृथ्वी मगर समाजले निर्माण गरेको मगर संग्रहालय ( कुडुले घर) मा साधारणसभा तथा सम्मान कार्यक्रम गरिएको हो ।


पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं आलेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नेपाल मगर संघका केन्द्रिय सदस्य मेखबहादुर सारु मगर, जिल्ला उपाध्यक्ष बेलबहादुर सारु, नगर अध्यक्ष अमरबहादुर घर्ती मगर, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, वडाका जनप्रतिनिधिहरु, शिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष संजय काफ्ले, पृथ्वी मगर समाजका सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

साधारण सभाले अध्यक्ष भुवन सिं आलेले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष खिमा सारुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । प्रथम साधारण सभामा मगर संग्रहालय ( कुडुले घर) निर्माणका लागि सहयोग गर्ने सहयोग दातालाई सम्मान गरिएको थियो । समाजले सहयोगीहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेको हो ।


कार्यक्रम बोल्दै प्रमुख अतिथि रेप्ती कुमार घर्ती मगरले समाजले मगर संग्रहालयको संरक्षण गर्दै मगर संस्कृति संरक्षण गर्नमा लाग्नुपर्ने बताउनुभयो । मगर समुदायका विभिन्न कला संस्कृति लोप हुने अवस्था रहेको भन्दै मगर समुदायले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । वडा तथा नगरले मगर संग्रहालयको प्रवर्द्धनका लागि काम गरिरहेको बताउँदै पृथ्वी मगर समाजलाई आवश्यक सहयोगका लागि वडा कार्यालय सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले पृथ्वी मगर समाजको साधारण सभा सफलताको कामना गर्दै मगर जातिको भाषा, कला, संस्कृति रक्षाका लागि सबैले ध्यान दिनुपर्ने भनाई राख्नुभएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष टिका बहादुर आलेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सह सचिव शोभा रानाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Write your Comment