देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार स्याउली फुटबल क्लब र प्रगतिकला मन्दिर युवा क्लब (ए) विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा स्याउली फुटबल क्लबका विरुद्ध देवचुली युथ क्लब दलदले बिच भएको पहिलो खेलमा स्याउली फुटबल क्लब विजयी भएको हो ।
स्याउली फुटबल क्लबले देवचुली युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा स्याउली फुटबल क्लबका अमृत राई म्यान अफ दि म्याच भएका थिए ।
मंगलबार नै भएको दोस्रो खेलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) विजयी भएको छ । झाक्रे फुटबल क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब (ए) बिच भएको खेलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) विजयी भएको हो । प्रगतिकला मन्दिर युवा क्लब (ए) ले झाक्रे फुटबल क्लबलाई ५-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) का साजन थापा म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा बुधबार कावासोती युथ क्लबका विरुद्ध रजहर फुटबल क्लब र भगवती एकता युवा क्लबका विरुद्ध लेकाली युवा समाज, झ्यालबासबिच खेल हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इस्कान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।