आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

‘शान्ति र समृद्धिका लागि युवा नै नेतृत्वदायी भूमिकामा आउनुपर्छ’

    प्रकाशित २०८१ आश्विन ३, बिहिबार (१४ घण्टा अघि)


देवचुली । शान्ति र समृद्धिका लागि युवा नै नेतृत्वदायी भूमिकामा आउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नवलपुरको देवचुलीमा जागृति बाल तथा यूवा सरोकार नेपाल, पिपिडिसि नेपाल, कोरियन डेमोक्रेटिक फाउन्डेसन र क्यान्न्नलनसँगको साझेदारीमा आयोजना गरेको शान्ति स्थापनामा यूवाहरुका भूमिका विषय कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवस र संविधान दिवसको अवसरमा बालबालिका र युवालाई राज्यप्रती चासो अभिवृद्धी गर्न र शान्ति प्रक्रियाका मुलभुत मुद्दाहरु थाहा दिनको लागि कार्यक्रमको आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।

आफूलाई परिवर्तन गर्दा शान्ति प्राप्त गर्न सहज हुने युवा नेता तथा बालअधिकारकर्मी विद्रोही गिरीले बताउनुभयो । यूवाहरुले सानो सानो कुरामा ध्यान दिंदा समाजलाई फाइदा पुग्छ उहाँले भन्नुभयो- ‘समाजमा सदाचार इमान्दारिता र नैकिताको स्तर खस्कदै गएको अवस्थामा राष्ट्रको हावा पानी र माटोलाई सम्झेर युवा पुस्ताले काम गर्नुपर्ने हुन्छ’ । संघीय प्रणाली अनुसारका संरचनामा अव यूवाले नेतृत्वदायी भूमिका खेल्ने बेला भएकोमा गिरीको जोड थियो । बाल क्लब स्थापना र नेतृत्वका सन्दर्भमा उहाँले आफ्नो भनाई राख्नु भएको थियो ।

अधिवक्ता भुपेन्द्र खनालले शान्ति स्थापनामा युवाहरुको भूमिकाका बारेमा आफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो । द्धन्द्धलाई सही तरिकाले समाधान गर्दा त्यो शक्तिको रुपमा स्थापित हुने र उपलब्धिहरु हासिल गर्न सहज हुने उहाँले बताउनुभयो । नेपालमा द्धन्द्धको अबस्था शान्ति प्रकृयाका काम तथा यसमा युवाहरुको अबस्थाका बारेमा उहाँले प्रस्तुतीकरण गर्नुभएको थियो । सरकारले अब शान्ति निर्माण प्रक्रियालाई अन्तिम दिशामा लगिरहदा हामी बालबालिका र युवाहरुले समेत चासो राखी सवैले न्याय पाउने गरि अगाडी लैजान पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पब्लिक स्पिकर, युवा अधिकारकर्मी मनिषा पौडेल , किशोरी अभियान्ताहरु सुस्मिता भण्डारी, विद्या ढुङ्गाना, देवचुली नगरपालिका वडा नं. १० अध्यक्ष रेप्ती कुमार घर्तीमगर लगाएतले बोल्नु भएको थियो भने रेजिना घर्तीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पिपिडिसि नेपालका सदस्यहरु, देवचुली नगरपालिकाका विभिन्न बिधालयका बालबालिका र युवाहरुको सहभागिता रहेको थियो ।

Write your Comment