आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

मुख्यमन्त्री पाण्डेद्वारा देवचुली १२ र ३ जोड्ने बेलचौतारा पुलको शिलान्यास

    प्रकाशित २०८१ आश्विन ३, बिहिबार (२१ घण्टा अघि)


देवचुली। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले देवचुलीको बेलचौतारा मोटरेबल पुलको शिलान्यास गर्नुभएको छ । देवचुली नगरपालिका १२ र ३ जोडने पुलको बुधबार मुख्यमन्त्री पाण्डेले शिलान्यास गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा निर्माण हुन लागेको पुलको शिलान्याससँगै निर्माणको प्रक्रिया अगाडि बढेको हो । उक्त पुल निर्माणका लागि ६ करोड ३० लाख ५८ हजार ६५२ रुपैयाँ लागतमा सम्झौता भएको छ । ब्रोदर्श देवचुली जेबीद्वारा २०८१ जेठ ३० गते सम्झौता भएको बेलचौतारा लक्ष्मीपुर केउरानी बौलाहा खोला पुल मोटरेबल पुलको निर्माण २०८३ जेठ १५ गते दुई वर्षमा सम्पन्न हुनेछ । पुलको ४५ मिटर लम्बाई र ८ मिटरको चौडाइ रहेको छ । निर्माण कम्पनीले आगामी २०८३ सालको जेठमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको पुलको शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि गण्डकी प्रदेश सभाका सदस्य महेन्द्रध्वज जिसी, जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्मा, नगर उप प्रमुख पार्वता तिवारी, गण्डकी प्रदेश सभाका पुर्व सदस्य ओमकला गौतम, पुर्वाधार विकास कार्यालय कावासोतीका प्रमुख कृष्ण आचार्य, नगरमा रहेका राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

 

पुलको शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पुलको अपरिहार्य आवश्यकतालाई बुझेर छिटोभन्दा छिटो पुल निर्माण गर्नुपर्ने बताउनुभयो । पुल निमार्णले राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक बाटोका रूपमा स्थानीयलाई सहज यात्राका लागि सहयोग पुग्ने बताउनुभयो । पटक–पटक बजेट विनियोजन भए पनि कार्यान्वयनमा असहज भएकाले पुल निमार्णको स्रोत सुनिश्चित हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ पहिला बजेट थिएन, अहिले पुल निर्माणका लागि बजेट सुनिश्चित गरेका छौँ, निर्माण कम्पनीले कुनै बहानाबाजी नगरी समयमा नै निर्माण कार्य सक्नुपर्छ । ”

नगरप्रमुख हरि न्यौपानेले पुल निर्माणसँगै दिव्यपुरी र प्रगतिनगरका स्थानीयले एउटै पालिका भएर पनि लामो बाटोको प्रयोग गर्नुपर्ने बाध्यता हट्ने विश्वास राखेको उहाँले बताउनुभयो । विशेष त यहाँका वडा ३ र वडा १२ का नागरिक लाभान्वित हुने उहाँले बताउनुभयो ।

 

Write your Comment