आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

कावासोतीमा संचालित भोदी प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाईटीलाई

    प्रकाशित २०८१ भाद्र ३०, आईतबार (४ दिन अघि)


देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाईटीले जितेको छ । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान कावासोती १२ मा शनिबारबाट संचालित प्रतियोगिताको आज समापन गरिएको हो ।

नवलपुर जिल्लाका विभिन्न स्थानहरुबाट ४५ टिमको सहभागिता रहेको प्रतियोगितामा आज भएको फाइनल खेलमा डायमण्ड युथ सोसाइटी कावासोती १२ प्रथम हुँदै ३० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने लौघाइ थारु समाज कावासोती ११ द्वितीय हुँदै १७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि असरा थारु समाज कावासोती १२ तृतीय हुँदै ७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने कावासोती शिवालयले सान्त्वना हुँदै ३ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना टिमले क्रमशः ८६, ८०, ७० र ३९ काँचा निकाल्न सफल भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी डायमण्ड युथ सोसाइटीका विकास थनेत भएका थिए ।

भोदी खेल संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिताको समापन सत्रमा कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, कावासोती नगरपालिकाका लेखापाल विनोद सुवेदी, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।


दुई पोलबाट प्रथम र द्वितीय हुने टिमलाई फाइनल खेलमा सहभागी गराइएको थियो । प्रतियोगितामा सबैभन्दा बढी टाचा निकाल्ने समुह विजेता हुने खेलको नियम छ । भोदी खेल थारु समुदायको परम्परागत खेल हो । दुई दिनसम्म संचालन भएको प्रतियोगिताको सहजीकरण गौमती महत्तो, किशोर खनाल, रिमबहादुर महत्तो गरेका थिए।

Write your Comment