आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

नवलपुरमा पहिलो पटक कृषक जागरण सभा

    प्रकाशित २०८१ भाद्र २९, शनिबार (५ दिन अघि)


सालिकराम कोइराला, कावासोती । नवलपुरको कावासोतीमा पहिलो पटक महिला कृषक जागरण सभा आयोजना गरिएको छ । पालिकाहरूमा विषादीयुक्त उत्पादनले मानव स्वास्थ्यमा अत्यन्त नकारात्मक असर पर्न थालेपछि यस्तो सभा आयोजना गरिएको हो।

छिमेकि पालिकाहरूमा पाँच दर्जन बढि मानिसहरू क्यान्सर र मृगौला रोगले आक्रान्त भएको खबर संचारमाध्यममा आएपछि आफुहरूले बेलैमा जनचेतना जागृत गर्न यस्तो सभा आयोजना गरिएको चन्द्रकला वाग्लेले बताइन्। उनि पुष्पाञ्जली महिला कृषक समूह कावासोतीकी अध्यक्ष हुन्।

सभामा कावासोती नगरपालिकाकी उप प्रमुख फूलकुमारी थनेतले यस्तो महत्वपूर्ण जागरण सभा आयोजना गरेकोमा पुष्पाञ्जली समूहलाई धन्यवाद दिइन्। महिलाहरूको यो उत्साह र जागरणलाई नगरपालिकाले सँधै हौसला प्रदान गर्ने उनले बताइन्। आगामी दिनमा पुष्पाञ्जली समूहको कार्यालय भवन बनाउन नगरपलिकाले बजेट विनियोजन गर्ने उप प्रमुखले बाचा गरिन् ।

पालिकाको कृषि तथा पशु सेवाका प्रमुख डा. टेकराज पौडेलले समूहको अर्गानिक उत्पादन गर्ने लक्ष्यलाई सघाउन कृषक महिलाहरूलाइ यसै वर्ष आइ पि एम तालिम दिन बजेट समेत व्यबस्था गरिएको बताए। पुष्पाञ्जली समूहले यसै वर्ष अकबरे खुर्सानी उत्पादनमा केन्द्रित रहेर यो तालिम संचालन गर्दैछ।

महिलाहरूलाई दिगो कृषि उत्पादनसँग जोड्न पालिकासँग योजना र बजेट दुवै हुने हुँदा महिला समूहलाई उद्दमी बनाउन पालिकाले हर तरहले सघाउनु पर्ने देवचुली नगरपालिका महिला तथा बालबालिका शाखाकि निर्मला पौडेलले जोड दिइन्। पुष्पाञ्जली समूहलाई पालिकाकै नमूना समूह बनाउन कावासोती नगरपालिकालाई उनले सुझाव दिइन्।

कावासोती -३ का वडाध्यक्ष डोरमान गिरीले आफ्नै वार्डको समूह भएका कारण वडाबाट हुने सहयोगमा कुनै कन्जुस्याइँ नहुने वचन दिए। समूहले शुरूदेखिनै कृषक लक्षित कार्यक्रम र तालिम संचालन गर्दै आएकोमा खुसी व्यक्त गरे।अबको बजेटमा पुष्पाञ्जली महिला कृषक समूह नछुट्ने अठोट दोहर्‍याए।

वातावरण पत्रकार मञ्चका अध्यक्ष सालिकराम कोइरालाले यो जागरण सभाले समुदायमा साँच्चिकै जागरण पैदा गर्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरे।अहिले रसायनिक विषादीले मानिसहरू जिवन- मरणको अवस्थामा पुगेको बेलामा भावि पिंढिलाई अर्गानिक उत्पादनसँग जोड्ने यो कार्यक्रम कोशेढुङ्गा साबित हुने उनले जिकिर गरे।

समूह गठनमा आफ्नो पनि भूमिका रहेकोले यस प्रकारको जागरण सभाले महिला दिदी- बहिनीहरूमा नयाँ उर्जा थपिएको आफुले महशुस गरेको बसन्ती कुँवरले बताइन्। उनि कावासोती नगरपालिकाको न्यायिक समिति तथा वडा नं ३ कि वडा सदस्य हुन्। सभामा एन्साबकी कृषि अधिकृत अनुपमा अधिकारीको पनि उपस्थिति रहेको थियो। समूहको गतिविधिबारे सचिव सचिना बिकले प्रकाश पारेकी थिइन् भने उपाध्यक्ष दुर्गा बिकले स्वागत गरेकी थिइन्।

Write your Comment