देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज नाईन `ए´ साइड अन्डर- २० फुटबल प्रतियोगितामा आइतबार भगवती युवा क्लब र इवाईसी एघार विजयी भएका छन् । धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको खेलमैदानमा भगवती युवा क्लबका विरुद्ध नौरंगी युवा क्लबबिच भएको पहिलो खेलमा भगवती युवा क्लब विजयी भएको हो। खेलमा भगवती युवा क्लबले नौरंगी युवा क्लबलाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा भगवती युवा क्लबका बासु मुसहर म्यान अफ दि म्याच भएका छन् ।
त्यसै गरि आइतबार नै भएको दोस्रो खेलमा इवाईसी एघार मध्यबिन्दु विजयी भएको छ । इवाईसी एघारले देवचुली ११ लाई ट्राइबेकरमा ५-३ को गोल अन्तरले हराउँदै विजयी भएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि ट्राइबेकरमा गएको थियो। प्रतियोगितामा मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको आयोजकले जनाएको छ ।
२० वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले २० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत सोमबार इवाईसी एघारका विरुद्ध आयोजकबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक क्लबका अध्यक्ष भिम सुबेदीले जानकारी दिए ।