देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज नाईन `ए´ साइड अन्डर- २० फुटबल प्रतियोगितामा मंगलबार नौरंगी युवा क्लब लोकाहा विजयी भएको छ । धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको खेलमैदानमा नौरंगी युवा क्लबका विरुद्ध प्रतिभा युवा क्लब विष्णुनगरबिच भएको नौरंगी युवा क्लब विजयी भएको हो। खेलमा नौरंगीले प्रतिभालाई ३-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। आजको खेलमा नौरंगी युवा क्लबका दिनेश नेपाली म्यान अफ दि म्याच भएका छन् । प्रतियोगितामा मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको आयोजकले जनाएको छ ।
२० वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले २० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत बुधबार जन ज्योति माविका विरुद्ध धौलागिरी प्रकृति युवा क्लब ( बी ) सँग खेल हुने आयोजक क्लबका अध्यक्ष भिम सुबेदीले जानकारी दिए ।