देवचुली । देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता जन ज्योति नमुना माध्यमिक विद्यालयको सभाहलमा गरिएको हो ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल लगायत नगर भित्रका विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
`युवा, सीप र स्वरोजगार समृद्ध नगर निर्माणको आधार´ भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका १३ माध्यमिक विद्यालयका सहभागिता रहेको थियो । प्रतियोगितामा वाईज भिजन माध्यमिक विद्यालयका प्रिस्किला बराम प्रथम, जन ज्योति माध्यमिक विद्यालयका प्रशंसा काफ्ले द्वितीय, नेपाल नमुना माध्यमिक विद्यालयका सुदीप पोख्रेल तृतीय भएका छन् । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमशः नगद ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रतियोगितामा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य ढुण्डिराज केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सो प्रतियोगिताको सहजीकरण आयोजक संस्थाका सचिव प्रकाश काफ्ले गर्नुभएको थियो ।