देवचुली । देवचुली नगरपालिकामा अचार बनाउने तालिम सुरु गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजनामा आइतबारदेखि भाद्र १ गतेसम्म देवचुली उद्योग वाणिज्य संघको सभाहलमा एक हप्ताको अचार बनाउने तालिमको सुरु गरिएको हो ।
देवचुली नगरपालिकाका १७ वटा वडामा अपांगता भएका व्यक्ति वा उनीहरुको परिवारको सहभागिता रहने गरि तालिमको आयोजना गरिएको सर्वोदय संस्थाका अध्यक्ष युवराज वाग्ले बताउनुभयो । अपांगता भएका व्यक्तिलाई सीप सिकाउनका लागि तालिमको आयोजना गरिएको बताउँदै संस्थाले यस वर्ष विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जानकारी समेत दिनुभएको थियो ।
संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षता भएको तालिमको उद्घाटन सत्रमा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा, कार्यपालिका सदस्य पार्वती अर्याल कंडेल, देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्साल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका निर्मला पौडेल लगायत आयोजक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता तिलप्रसाद काफ्लेले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नपर्ने बताउनुभयो । सीपको सहि सदुपयोग गर्दै आर्थिक उपार्जनका लागि समुहमा अचार बनाएर बिक्री गर्न सकिने समेत उहाँले बताउनुभयो । देवचुली नगरपालिकाले समेत यस वर्ष विविध सीपमूलक तालिमको व्यवस्था गरिएको र समान उद्देश्यका कार्यक्रममा संस्थासँग सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।
एक हप्ता सम्म संचालन हुने तालिममा धनुमाया रानाले सहजीकरण गर्ने आयोजकले जनाएको छ । तालिममा विभिन्न प्रकारका अचारहरु बनाउन सिकाईने छ । उद्घाटनमा देवचुली नगरपालिका वडा न १४ का अध्यक्ष गोपाल थापा, समाजिक विकास शाखाका प्रमुख विमला लम्सालले तालिमको सफलता शुभकामना मन्तव्य राख्नुभएको थियो ।
देवचुलीको १७ वडाबाट ४० जना भन्दा बढीको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको सहजीकरण आयोजक संस्थाका सचिव गोपाल शर्माले गर्नुभएको थियो ।