आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

कावासोती नगरपालिकाद्वारा विज्ञान विषय पढ्ने दश जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    प्रकाशित २०८१ श्रावण २७, आईतबार (३ महिना अघि)


नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यमिक विद्यालय र त्रिभुवन बाल माध्यमिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिको लागि छनोट गरेको हो ।
छनोट भएका विद्यार्थीहरुले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । छनोट भएका विद्यार्थीहरुलाई आईतबार नगर प्रमुख बिष्णु प्रसाद भुसालले छनोटको प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सो क्रममा उहाँले नगरपालिका भित्रबाट छनोट हुन सफल विद्यार्थीहरुलाई बधाई दिदै आआफ्नो क्षेत्रमा उत्कृष्टता प्राप्त गर्नका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

छात्रवृत्तीका लागि छनोट भएको प्रति विद्यार्थी वापत नगरपालिकाले विद्यालयलाई ५२ हजार रुपैयाका दरले दुई लाख ६० हजार रुपैया उपलब्ध गराउनेछ । जसबाट विद्यार्थीले कक्षा ११ र १२ मा निशुल्क अध्ययन गर्न पाउने नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले बताउनुभयो ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत नगरपालिकाले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने नीति लिएको थियो । कावासोती नगरपालिकाले यस अगाडी नगरपालिका भित्र प्राविधिक धारका कक्षा सञ्चालन हुने जनता माध्यामिक विद्यालय मगरकोट र शहिद स्मृती माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको थियो । विगतमा दिईदै आएको प्राविधिक तर्फको छात्रवृत्तिलाई निरन्तरतासंगै यस वर्षबाट विज्ञान संकाय तर्फ थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

Write your Comment