आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

सुस्ताको झोलुङ्गे पुल हेर्न भारतीयको घुइँचो

    प्रकाशित २०८१ श्रावण २६, शनिबार (३ महिना अघि)


ज्ञानु पंगेनी, नवलपुर । पश्चिम नवलपरासीको ऐतिहासिक भूमि नारायणी पारिको सुस्ता जोड्ने झोलुङ्गे पुल हेर्नका लागि भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । दुई महिना अघि मात्रै नारायणी माथि एक हजार ५७१ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । यस पुलको चौडाइ एक मिटर ६० सेन्टिमिटर रहेको छ ।

सुस्तामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि नेपालीहरू पनि पुल हेर्नका लागि पुग्ने गरेका छन् । तर नेपाली भन्दा बढी यस पुल हेर्नका लागि भारतबाट पर्यटक आउने गरेको स्थानीय रविन्द्र जयसवालले बताउनुभयो । सुस्ता गाउँ भारतीय सीमासँग जोडिएको कारण भारतीयलाई नजिक पर्ने हुँदा यस पुल हेर्न भारतबाट धेरै आउने गरेको जयसवालले बताउनुभयो । पुल हेर्न दैनिक सयौँको सङ्ख्यामा भारतीय पर्यटक आउने गरेको उहाँले बताउनुभयो । सुस्तामा बनेको पुल देशकै लामो झोलुगे पुल हो । यस पुलको औपचारिक उद्घाटन अझै हुन बाँकी छ । यस झोलुगे पुलको चर्चा भारतीय सीमावर्ती क्षेत्रमा व्यापक भएको छ ।

भारतको उत्तर प्रदेश महाराजगञ्जबाट आएका पर्यटक धर्मनाथले नेपालको सुस्तामा लामो झोलुङ्गे बनेको छ भन्ने सञ्चार माध्यमबाट थाहा पाएर हेर्न आएका बताउनुभयो । पुललाई प्रत्यक्ष देख्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । पहिलो पटक यस प्रकारको झोलुङ्गे पुल देख्ने र अनुभव गर्ने मौका पाएको उहाँले बताउनुभयो ।अर्का भारतीय पर्यटक अमलेन्द्र कुमार मल्ल पनि झोलुङ्गे पुल हेर्नका लागि आएको बताउँदै सुस्तामा बनेको झोलुङ्गे पुल निकै आकर्षक लागेको बताउनुभयो । उहाँले नेपालमा विकास हुँदै गएको र यस पुलको माध्यमबाट पर्यटकको आगमनमा वृद्धि हुने बताउनुभयो । झोलुङ्गे पुल हेर्नका लागि भारतीय पर्यटक परिवार सहितै आउने गरेका छन् । पर्यटकलाई लक्षित गरेर पार्किङको व्यवस्थापन समेत गरिएको छ भने , स्थानीयले खाजानास्ता पसल समेत सञ्चालनमा ल्याएका छन् । सुस्ताको झोलुङ्गे पुल स्थानीयको आयश्रोतको माध्यम समेत बनेको छ ।

२०७२ असोजमा निर्माण सुरु भएको पुल २०७५ पुसमा सम्पन्न हुनुपर्नेमा ६ वर्षपछि मात्र बनेको हो । ठेकेदार कम्पनीले पटक–पटक काम अलपत्र पारेर सम्पर्कविहीन हुँदा पुल निमार्णमा ढिलाइ भएको थियो ।

Write your Comment