देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सहभागी भएका १८६ जना विद्यार्थीमध्ये १३४ जना विद्यार्थीहरुले कक्षा १२ उतीर्ण गरेका छन् । कक्षा १२ को नतिजामा सामुदायिक विद्यालयमा नवलपुर जिल्ला प्रथम भएको विद्यालयले दाबी गरेको छ । भीमसेनबाट रुष्मा थामा क्षेत्रीले ३.८३ जिपिए, सुरज प्रसाद पराजुलीले ३.६९ जिपिए, पुष्पा जैसीले ३.६८ जिपिए, शिक्षा पाण्डेले ३.६४ जिपिए, प्रेजना पाण्डेले ३.६२ जिपिए गरि ३.६ जिपिए माथि ल्याउने ५ जना विद्यार्थी रहेका छन् । त्यसै गरि २४ जनाले ३.२ देखि ३.६ जिपिए, ५९ जनाले २.८ देखि ३.२ जिपिए, ४१ जनाले २.४ देखि २.८ जिपिए र ५ जनाले २ देखि २.४ जिपिए ल्याएर विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । व्यवस्थापन संकायतर्फ नवलपुर जिल्लामै प्रथम भएको र समग्रमा नतिजामा समेत सामुदायिक विद्यालयमा भीमसेन जिल्ला प्रथम भएको उहाँले बताउनुभयो ।
विद्यालयमा सबैको सहयोगले जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेले बताउनुभयो । विद्यालयले विगतदेखि नै राम्रो नतिजा प्राप्त गर्दै आइरहेकाले अभिभावक तथा विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको उहाँले बताउनुभयो । कक्षा १२ मा अधिकांश विषयमा सतप्रतिशत नतिजा ल्याएका छन् भने केही विषयमा ८५ प्रतिशत भन्दा बढी विद्यार्थी उतीर्ण भएको विद्यालयले जनाएको छ ।
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय मध्येको एक विद्यालय हो । विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म २ हजार २ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । नवलपुर जिल्लामा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सुरुवात गर्ने भीमसेन जिल्लाकै पहिलो सामुदायिक विद्यालय हो ।