देवचुली। जिब्रोमा क्यान्सर भएका देवचुली नगरपालिका वडा नम्वर ८ का देवबहादुर रानाको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । दियो जनसेवा क्लब देवचुली नगरपालिका- ८/९, मिलिजुली देउसी भैलो समूह, प्रगतिशिल आमा समूहको पहलमा देवचुली नगरपालिका वडा नम्बर ८ आँपटारी निवासी रानाको उपचारार्थ संकलित रकम १ लाख ९५ हजार ३५९ रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरिएको हो । संकलित रकम रानाका आमा जसमाया रानालाई हस्तान्तरण गरिएको हो ।
दियो जनसेवा क्लबका अध्यक्ष बुद्धिबहादुर फाल मगरको अध्यक्षतामा हस्तान्तरण कार्यक्रममा देवचुली वडा नम्बर ८ का अध्यक्ष नुनप्रसाद बाँचेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि हस्तान्तरण कार्यक्रममा भीमसेन आदर्श माध्यमिक विद्यालयका शिक्षक मनवीर पुलामी, देवचुली वडा नम्बर ९ का पूर्व अध्यक्ष मेखबहादुर सारु मगर, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचे, सक्रिय टोल विकास संस्थाका संयोजक तिलमाया अधिकारी, प्रगतिशिल आमा समुहका अध्यक्ष रिमा राई, मिलिजुली देउसी भैलो समूहका संयोजक बलबहादुर फेवाली, क्लबका पदाधिकारी तथा स्थानीय समाजसेवीहरुको उपस्थिति थियो ।
सहयोग रकममध्ये मिलिजुली देउसी भैलो समुहबाट १ लाख १ हजार ४९४ रुपैयाँ, प्रगतिशील आमा समुहद्वारा ३१ हजार ५०५ रुपैयाँ, दियो जनसेवा क्लबद्वारा १७ हजार १४० रुपैयाँ, नेकपा एमालेका पार्टी सदस्यबाट ५ हजार २२० रुपैयाँ र रानाका मावली, अन्टीहरुबाट ४० हजार रुपैयाँ गरि संकलित रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बुद्धिबहादुर फालले बताए । हस्तान्तरण कार्यक्रमको सहजीकरण क्लबका उपाध्यक्ष यमप्रसाद भुसालले गरेका थिए ।
जिब्रोमा क्यान्सर भएका रानाको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गरिदिनका लागि परिवारले अनुरोध गरेको छ ।