आज:  २०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024 Search
FLASH NEWS

व्यवसायीको आन्दोलनले गण्डकीमा सार्वजनिक यातायात ठप्प

    प्रकाशित २०८१ श्रावण १३, आईतबार (३ महिना अघि)


पोखरा । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ। राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै आइतबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प पारेका हुन् । गण्डकी प्रदेशको राजधानी पोखरामा सार्वजनिक सवारी नचल्दा सडक सुनसान छ। निजी सवारी मात्रै चलेका छन् । सार्वजनिक यातायात चढ्ने यात्रु मर्कामा परेका छन् । गण्डकी प्रदेशबाहिर जाने सवारी भने छिटफुट चलिरहेका छन् ।

शनिबार विज्ञप्ती जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले सार्वजनिक सवारी घर र ग्यारेजमा राखेर आन्दोलनमा सारिक हुन व्यवसायी र मजदुरलाई आह्वान गरेको थियो । ‘उक्त कार्यले आम नागरिक तथा यात्रुवर्गमा पर्न जाने असुविधाप्रति हामी क्षमा प्रार्थी छौं’, अध्यक्ष केदार पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

दुई पांग्रे र चार पांग्रे सवारीलाई राइड शेयरिङ सञ्चालन गर्न नदिन यातायात व्यवसायीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बिहीबार ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए । दुई पांग्रे र चार पांग्रे निजी सवारीसाधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने व्यवसायीको पहिलो माग हो ।

श्रम आयोगको तत्काल गठन, सडक सुरक्षा योजना तत्काल लागु, यातायात प्राधिकरण गठन गरी यातयात सञ्चालनको कार्यविधि तयार र वैज्ञानिक भाडादर समायानुकुल समायोजन हुनुपर्ने माग रहेको छ । यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टीसँगै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनुपर्ने शर्त राखेका यातायात व्यवसायीलाई प्रदेश सरकारले चासो नदेखाएको उनीहरुको आरोप छ।

Write your Comment