आज:  २०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा मौरीपालक किसानलाई मौरी घार तथा आधार चाका वितरण

    प्रकाशित २०८१ जेष्ठ १४, सोमबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिकाका मौरीपालक कृषकलाई मौरी घार तथा आधार चाका वितरण गरिएको छ । देवचुली नगरपालिका कृषि शाखाको आयोजनामा देवचुली १० मा रहेको कृषि उपज संकलन केन्द्र जलुकेमा आइतबार मौरीपालक कृषकहरुलाई मौरी घार तथा आधार चाका वितरण गरिएको हो । देवचुली नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को मौरीपालक कृषकहरुलाई प्रवद्धनात्मक कार्यक्रम अन्तर्गत कृषकको ५० प्रतिशत अनुदानमा १ सय २० मौरी घार र २१० किलो चाका वितरण गरिएको हो । नगरमा रहेका मौरीपालक कृषकलाई मध्ये ४३ जनाको मागको आधारमा सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख गगन भट्टराईले जानकारी दिनुभयो ।

 

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, लेखा अधिकृत नारायण ढकाल, देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती, देवचुली १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरले कृषि, पशुपालन तथा मौरीपालनका लागि विशेष प्राथमिकता दिएको बताउनुभयो । कृषि शाखाद्वारा मौरीपालक कृषकहरुलाई प्रवद्धनात्मक कार्यक्रम संचालन गरिरहेको बताउँदै मौरी चरन क्षेत्रको व्यवस्थापन पालिका भित्र नै गर्न पहल गरिने उहाँले उदघोष गर्नुभयो ।

देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले देवचुली नगरपालिकालाई मौरी र उत्पादकत्वसँग जोड्दै मौरी र महको हब बनाउन सकिने बताउनुभयो । नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेलले अन्य पालिकामा भन्दा देवचुलीमा मौरीपालक कृषकहरूलाई प्राथमिकता दिदै कार्यक्रम गरिरहेको बताउँदै महको बजारीकरणलाई पहल गर्नका लागि सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो ।

मौरीपालक कृषक समूह देवचुलीका अध्यक्ष शोभाकान्त रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका कृषि शाखाका नरेन्द्र भण्डारीले गर्नुभएको थियो ।

 

Write your Comment