कावासोती । कावासोती १ हात्तीखोरमा जारी खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा बुधबार ५ वटा खेलहरु सम्पन्न भएका छन् । चैते दशैंको अवसरमा नव विहानी युवा क्लबद्वारा चैत २२ गतेबाट महाराजा आधारभूत विद्यालय प्राङ्गणमा संचालन भएको प्रतियोगितामा महिला तर्फका खेलहरु सम्पन्न भई पुरुष तर्फका खेलहरु संचालन भएको हो ।
बुधबार भएका खेलमा पिप्रा , मध्यविन्दु, मुढाबास, खोङ्गखोङ्ग, जिएम र विशालटार विजयी हुँदै अर्को चरणमा प्रवेश गरेका छन् । खेलमा पिप्राले आयोजक (सी) लाई, मध्यविन्दुले बसन्तपुरलाई खोङ्गखोङ्गले आयोजक (बी) लाई, मुढाबासले कावासोती १४ लाई, जिएमले आयोजक (ए) र विशालटारले मध्यविन्दुलाई हराएका हुन् । पुरुष तर्फ १७ टिमको सहभागिता रहेको प्रतियोगिताका बाँकी खेल बिहीबार हुने आयोजक क्लबका अध्यक्ष दिनेश ठाडाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद ४० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि तृतीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमले नगद ७ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
५ वटा टिम सहभागी भएको महिला भलिबल प्रतियोगितामा विशालटार बिजेता भएको छ भने देवचुली-८ मुढाबास उपबिजेता भएको छ । बिजेता/ उपबिजेतालाई प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गरिने अध्यक्ष ठाडाले बताए । प्रतियोगिता ३५ वर्ष माथिका भेट्रान्सहरुको समेत खेल हुने जनाइएको छ ।