कावासोती । कावासोती १ हात्तीखोरमा जारी खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगलबार पहिलो चरणका ५ वटा खेलहरु सम्पन्न भएका छन् । चैते दशैंको अवसरमा नव विहानी युवा क्लबद्वारा चैत २२ गतेबाट महाराजा आधारभूत विद्यालय प्राङ्गणमा संचालन भएको प्रतियोगितामा महिला तर्फका खेलहरु सम्पन्न भई पुरुष तर्फका खेलहरु सुरु भएको हो ।
मंगलबार भएका खेलमा आयोजक (ए) , खोङ्गखोङ्ग, विशालटार (ए), मुढाबास र मध्यविन्दु-३ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । खेलमा आयोजक (ए) ले शंखदेव (बी) लाई, खोङ्गखोङ्गले डिहीलाई, विशालटार (ए) ले मिलनसार सेउलीलाई, मुढाबासले शंखदेव (ए) लाई र मध्यविन्दु- ३ ले रतवललाई हराएका हुन् । पुरुष तर्फ १७ टिमको सहभागिता रहेको प्रतियोगिताका बाँकी खेल बुधबार हुने आयोजक क्लबका अध्यक्ष दिनेश ठाडाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद ४० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि तृतीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमले नगद ७ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
५ वटा टिम सहभागी भएको महिला भलिबल प्रतियोगितामा विशालटार बिजेता भएको छ भने देवचुली-८ मुढाबास उपबिजेता भएको छ । बिजेता/ उपबिजेतालाई प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गरिने अध्यक्ष ठाडाले बताए । प्रतियोगिता ३५ वर्ष माथिका भेट्रान्सहरुको समेत खेल हुने जनाइएको छ ।