देवचुली । बौदीकाली गाउँपालिका वडा नम्बर १ मचेडीमा रहेको धर्मात्मा माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार विद्यालयको प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो। धर्मात्मा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बौदिकाली गाउँपालिकाकाका अध्यक्ष प्रकाश ओझाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले शिक्षा क्षेत्रको सुधारको लागि राज्यले आवश्यक बजेट, नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले धर्मात्मा माविमा पछिल्लो समय भएको शैक्षिक सुधारका क्रियाकलाप नजिकबाट नियालिरहेको उहाँले बताउनुभयो । बौदीकाली गाउँपालिकाले धर्मात्मा माविलाई आवश्यक सहयोगका लागि साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम लामिछानेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न आगामी कार्ययोजना तथा विद्यालयको आवश्यकताको बारेमा समेत जानकारी गराउनुभएको थियो । त्यसै गरि वार्षिकोत्सवको अवसरमा मासिक धर्मात्मा बाल वाटिकाको समुदघाटन, शिक्षकहरुको नृत्य, खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको कार्यक्रयमा विभिन्न कक्षाका विद्यार्थीहरुले सामुहिक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा बौदीकाली १ का वडा अध्यक्ष अनिल थापा मगर, बौदीकाली २ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी व्यक्तित्वहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक कृष्णप्रसाद लामिछाने, डोलराज कंडेल लगायतको वार्षिकोत्सवको शुभकामना मन्तव्य राख्नुभएको थियोे । वार्षिकोत्सवमा विद्यालयका सहायक प्रधानाध्यापक ध्रुव लामिछानेले स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षक निलकण्ठ रिमालले गर्नुभएको थियो ।