देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले जितेको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा शनिबार अभिषेक चर्च रजहरका विरुद्ध गैंडाकोट फुटबल क्लबबीच भएको फाइनल खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै उपाधी जितेको हो ।
अभिषेक चर्च रजहरले गैंडाकोट फुटबल क्लबलाई २-१ गोल अन्तरले हराएको हो । शनिबार भएको फाइनल खेलमा अभिषेक चर्च रजहरका सुरज गुरुङ म्यान अफ दि म्याच भएका थिए ।
नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागितामा फागुन १० गतेबाट सुरु भएको प्रतियोगिताको बिजेता अभिषेक चर्चले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता गैंडाकोट फुटबल क्लबले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि सेमिफाइनल पुग्ने पटिहानी फुटबल क्लब र प्रगतिकला मन्दिर युवा क्लबले २०/२० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी अभिषेक चर्च रजहरका सुजित बुढाथोकी, सर्वोकृष्ट गोलरक्षक गैंडाकोट फुटबल क्लबका सफल खत्री, सर्वाधिक गोलकर्ता अभिषेक चर्च रजहरका माया क्रिस र रोशन क्षेत्री भएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद ५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षता भएको प्रतियोगिताको समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।