देवचुली । देवचुली नगरपालिकामा रहेको देवचुली जेसिजद्वारा दुई जना महिलालाई सम्मान गरेको छ । ११५ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा देवचुली जेसिजमा रहेर विभिन्न भुमिकामा रहेका दुर्गा देवी विष्ट र डा. चन्दा न्यौपानेलाई सम्मान गरेको हो ।
देवचुली जेसिजको नेतृत्व गरेर विभिन्न संघ संस्थामा नेतृत्व गरिरहेकी विष्ट र देवचुली जेसिजमा रहेर सहयोग गर्दै विद्यावारिधि गर्ने महिला न्यौपानेलाई देवचुली जेसिजले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।
देवचुली जेसिज वर्ष २०२५ का अध्यक्ष ढुण्डीराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले महिलामाथि अझै हिंसा घटिरहेकाको बताउँदै सबै जनाको सहकार्यमा मात्र महिला हिंसा न्यूनीकरण गर्न सकिने बताउनुभयो । महिला र पुरुष माथि श्रममा विभेद रहेकोले अझै दिवस मनाउन बाध्य रहेको गुनासो गर्नुभएकी उप प्रमुख तिवारीले महिलालाई नेतृत्व ल्याउनका लागि सबैले साथ दिनुपर्ने बताउनुभयो । जेसिजद्वारा दुई महिलालाई सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै जेसिजमा समेत महिलाहरुलाई नेतृत्वदायी भुमिका दिनका लागि उहाँले आग्रह गर्नुभएको थियो ।
सम्मानितद्वयले देवचुली जेसिजले गरेको सम्मानले अझै सामाजिक काम गर्न उर्जा मिलेको बताउनुभयो । देवचुली जेसिज २०१७ का अध्यक्ष प्रदीपराज बास्तोला अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । देवचुली जेसिजका उपाध्यक्ष पुष्प लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव नरेन्द्र भण्डारीले गर्नुभएको थियो ।