आज:  २०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025 Search
FLASH NEWS

मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको संघीय क़ृषिमन्त्रीले उद्घाटन गर्नुहुने

    प्रकाशित २०८१ फागुन २२, बिहिबार (५ दिन अघि)


प्रिय धन , चोरमारा । मध्यविन्दु नगरपालिकाले आयोजना गरेको मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ को संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुहुने भएको छ । बिहिबार फागुनको २२ गतेदेखि शनिबार फागुन २४ गतेसम्म ७ नं. वडाको वडा कार्यालय पछाडि नवजागरण माविको पुरानो विद्यालयको प्रांगणमा महोत्सवको आयोजना गरिएको छ । विशेष गरी मध्यविन्दु नगरपालिका र समग्र नवलपुर जिल्लाका कृषकहरु , विद्यार्थी, क़ृषि अनुसन्धानकर्ता , वित्तीय संस्थाहरुलाई टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन गर्न संघीय मन्त्री आउनुहुने भएको हो ।

मध्यान्नह १२:३० बजेबाट उद्धघाटन हुने कार्यक्रमको झांकीसहितको ऱ्याली भने बिहान ११:३० बाट सुरु हुने मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभएको छ । मध्यविन्दु १ देखि ७ सम्मका सबै समूहले मध्यविन्दु नगर अस्पताल अगाडीबाट , वडा नम्बर ८ को समूह फूलबारीबाट र वडा नं. ९ देखि १५ सम्मको समूह मध्यविन्दु नगरपालिकाको कार्यालय चोरमाराबाट झांकी सहितको ऱ्यालीमा महोत्सव स्थल प्रवेश गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

मध्यान्नह १२:३० बजेबाट सुरु गरिने कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उद्धघाटन पश्चात क़ृषि उपकरण कम्बाइण्ड हार्वेस्टर हस्तान्तरण गर्ने कार्यक्रम रहेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो । साथै विभिन्न सांस्कृतिक नृत्य सहित रैथाने खानाको प्रदर्शनी र आमन्त्रित अतिथिबाट शुभकामना मन्तव्य राखिने कार्यक्रम तय भएको पनि नगरप्रमुख अधिकारीले बताउनुभयो । महोत्सवको अवलोकन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म गर्न सकिने पनि जनाईएको छ ।

यस्तै महोत्सवको दोस्रो दिन २३ गते शुक्रबार क़ृषि तथा वन विश्वविद्यालयका डिन प्रा. डा. अर्जुन कुमार शाक्य र अन्तिम दिन फागुन २४ गते शनिबार क्रान्तिकारी कृषि युद्ध कार्यक्रमका संचालक, बाघ संरक्षण दूत तथा महानायक राजेश हमाल आउनुहुने कार्यक्रम राखिएको पनि मध्यविन्दु नगरपालिकाले जनाएको छ । यो बीचमा विद्यार्थीहरुका बीच विविध प्रतियोगिता तथा विषादीको प्रयोगले हुने हानीका बारेमा नाटक लगायत विभिन्न कार्यक्रम संचालन हुनेछन् ।

Write your Comment