देवचुली । नवलपुरको देवचुलीमा ढकिया बनाउने सीप विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा देवचुली १ र १७ को वडा कार्यालयको समन्वयमा देवचुली १७ को पिप्रहर सामुदायिक होमस्टेमा फागुन ४ गतेदेखि सुरु गरिएको तालिमको सोमबार समापन गरिएको हो ।
देवचुली नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा देवचुली ७ का वडा अध्यक्ष भूमिसरा थापाको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य फुलमाया बिक, सामाजिक शाखा प्रमुख विमला लम्साल, महिला, बाल बालिका शाखाबाट निर्मला पौडेल, नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै देवचुली ९ का वडा अध्यक्ष बलिरामले सापकोटाले देवचुली नगरपालिकामा रहेका दुई वटा होमस्टेका महिलाहरुलाई परम्परागत र लोप हुन लागेको संस्कृतिलाई जोगाउनुका साथै आत्मनिर्भर बन्न सिकाउन तालिमको आयोजना गरिएको बताउनुभयो । देवचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुमिसरा थापाले तालिममा सिकेका सीपहरुको प्रयोग गरि आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीहरुबाट ढकिया, फुलदानी, सजिसजावटका सामाग्री बनाउन सकिने हुँदा आम्दानी गर्न नि सहज हुने उहाँले बताउनुभयो । आगामी दिनमा समेत आवश्यक तालिमको लागि नगरपालिका सहयोग गर्ने उहाँले बताउनुभयो ।
देवचुली १ र देवचुली १७ बाट १०/१० जना गरि २० जनाको सहभागितामा १५ दिनको ढकिया लगायतको सामाग्री बनाउने तालिम दिइएको देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले जानकारी दिनुभयो । तालिममा तुल्सीमाया महतो र सीताकुमारी महतोले सहजीकरण गर्नुभएको थियो ।