आज:  २०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025 Search
FLASH NEWS

चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता : पटिहानी फुटबल क्लब सेमिफाइनल प्रवेश

    प्रकाशित २०८१ फागुन १७, शनिबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा पटिहानी फुटबल क्लब विजयी भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा शनिबार पटिहानी फुटबल क्लबका विरुद्ध कावासोती फुटबल क्लबबीच भएको खेलमा पटिहानी फुटबल क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

पटिहानीले कावासोतीलाई ३-० गोल अन्तरले हराएको हो । पटिहानीका तर्फबाट बसन्त कुमाल, मन्नु कुमाल र अजय महतोले १/१ गोल गरेका थिए । शनिबार भएको खेलमा पटिहानी फुटबल क्लबका विनोद तामाङ म्यान अफ दि म्याच भएका थिए ।

नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत आइतबार प्रगतिकला मन्दिर युवा क्लबका विरुद्ध दुम्कीबास डिवाईडिएका बीच क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment