आज:  २०८१ चैत्र २७, बुधबार | Wed, 09, Apr, 2025 Search
FLASH NEWS

बालबालिकाको सहज शिक्षाको लागि अभिभावकलाई बाख्रा उपहार स्वरुप हस्तान्तरण

    प्रकाशित २०८१ फागुन १४, बुधबार (१ महिना अघि)


देवचुली । बालबालिकाको शैक्षिक क्रियाकलाप र समग्र बिकासको लागि अभिभावकलाई बाख्रा उपहार स्वरुप आठौं संस्करणको वितरण बुधबार देवचुली १६ को बाह्रकोल र बेलस्वारामा गरिएको छ । खुसी खुसी विद्यालयमा बालबालिका पुर्‍याउने अभियान अन्तर्गत जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे बिटिकम जर्मनीसँगको साझेदारीमा विगत ७ बर्षदेखि हस्तान्तरण गरिरहेको संस्थाका महासचिव दिपक शर्माले बताउनुभयो ।

आठौं चरण अन्तगर्त देवचुली नगरपालिका वडा नम्बर १६ को बाह्रकोल र बेलस्वारामा २० घरपरिवारलाई ४० उन्नत जातका पाठीहरु हस्तान्तरण गरिएको हो । सो स्थानमा हालसम्म ४० घरपरिवारलाई बाख्रा हस्तान्तरण गरि सकिएको शर्माले बताउनुभयो ।

हस्तान्तरण समारोहमा प्रमुख अतिथि देवचुली नगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष केशवराज गौतमले पहाडी क्षेत्रको समग्र विकासमा आयआर्जनको लागि बाख्रापालन उपयुक्त पेशा हुने कुरा बताउदै संस्थाले बालबालिकाको शिक्षाको लागि उन्नत जातका बाख्रा दिनुले अभिभावकको आर्थिक अवस्थामा सहयोग पुग्ने हुँदा सबैले राम्रोसँग पाल्न र फाईदा लिन अनुरोध गर्नुभयो । दुर्गम क्षेत्रका बालबालिकाको लागि शिक्षा महत्त्वपूर्ण पक्ष रहेकोले वडाले समेत यो अभियानमा सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बालबालिकाको शिक्षाको लागि अभिभावकलाई जिम्मेवार बनाउन यो सहयोगले साथ दिने र सानो मेहनतले समेत फाईदा लिन सकिने हुँदा सबैले जिम्मेवारपुर्वक बाख्रा पाल्नको लागि अनुरोध गर्नुभयो ।

नेपाल हिल्फे बिटिकमका नेपाल प्रतिनिधि दिपक प्रसाद बस्यालले बालबालिकाको शिक्षा प्राप्तिको लागि गरिएको सानो सहयोग भएकोले सही सदुपयोग गरी आम्दानी बालबालिकाको लागि नै प्रयोग गर्न अनुरोध समेत गर्नुभयो । बालबालिकाको लागि बाख्रा प्राप्त गरेपछि कृषकहरु खुसी रहेको र उन्नत खालका बाख्रा रहेकोले ब्यावसायिक रूपमा गर उत्प्रेरणा मिलेको बताएका थिए ।

देवचुलीको पहाडी क्षेत्रमा रहेका बालबालिकाको शैक्षिक क्रियाकलापलाई सहयोग पुर्‍याउन विगत ७ बर्षदेखि देवचुलीको वडा नम्बर ६ को किर्तीपुर, वडा नम्बर ५ को बन्दिपुर र देवचुलीको वडा नम्बर १६ बाह्रकोल र बेलस्वारामा अभिभावकलाई आयआर्जन बढाउन शैक्षिक सामाग्रीहरु, विद्यालयका शिक्षक, व्यवस्थापन समिति र बालबालिकालाई विभिन्न तालिमहरु सहित उन्नत जातका बाख्रा हस्तान्तरण गर्ने गरिएको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो । हालसम्म सो क्षेत्रमा ८ चरणमा गरि १६० घर परिवारलाई उन्नत जातका ३२० पाठीहरु र ४ उन्नत बोकाहरु हस्तान्तरण गरेको संस्थाका महसचिवले बताउनुभयो ।

Write your Comment