आज:  २०८१ फागुन १०, शनिबार | Sat, 22, Feb, 2025 Search
FLASH NEWS

चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता : देवचुली १ को विजयी सुरुवात

    प्रकाशित २०८१ फागुन १०, शनिबार (९ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगिताको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदघाटन गर्नुभएको हो ।

प्रतियोगिताको उदघाटन खेलमा खेलकुद विकास समिति देवचुली १ ले विजयी सुरुवात गरेको छ । देवचुली १ ले युनाइटेड युवा क्लब गिरवारीलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा खेलकुद विकास समिति देवचुली १ का तिलक मगर र गगन महतोले १/१ गोल गरेका थिए भने युनाइटेड युवा क्लब गिरवारीका तर्फबाट निकेश सोतीले गोल गरेका थिए । शनिबार भएको खेलमा खेलकुद विकास समिति देवचुली १ का रोशन गुरौ म्यान अफ दि म्याच भएका थिए ।

नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिनुभयो ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईको अध्यक्षतामा भएको प्रतियोगिताको समुदघाटन खेलमा देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment