आज:  २०८१ फागुन ९, शुक्रबार | Fri, 21, Feb, 2025 Search
FLASH NEWS

कावासाेतीमा रहेकाे सेन्ट्रल कलेजको भवन मापदण्ड विपरीत, नगरपालिकाले रोक्यो निर्माण कार्य

    प्रकाशित २०८१ फागुन ५, सोमबार (३ दिन अघि)


दीपक भट्टराई, कावासोती । कावासाेती नगरपालिका–८ सभापतिचाेकमा निर्माणाधीन सेन्ट्रल कलेजको भवन मापदण्ड विपरीत बनिरहेको खुलासा भएपछि नगरपालिकाले तत्काल निर्माण कार्य रोक्ने निर्देशन दिएको छ। कलेज प्रशासनले चार तल्लाको स्वीकृति लिएर सात तल्लाको भवन निर्माण गरिरहेकाे पाइएपछि स्थानीयले उजुरी गरेका थिए।

नगरपालिकाका एक अधिकारीका अनुसार चार तल्लाभन्दा माथि भवन निर्माण गर्न विशेष इन्जिनियरिङ डिजाइन आवश्यक पर्छ, जुन यस कलेजको निर्माणमा पालना गरिएको छैन। “मापदण्ड विपरीत भवन निर्माण भइरहेको भन्दै स्थानीयबाट उजुरी प्राप्त भएकाले हामीले छानबिन प्रक्रिया अघि बढाएका छौं,” स्रोतले जानकारी दिएको छ। नगर प्रमुख बिण्णु भुसाले नियम उल्लंघनको गम्भीरता बुझ्दै कानुन अनुसार आवश्यक कारबाही गरिने बताए। “नगरपालिकाले निर्माणका लागि तोकिएका मापदण्डलाई बेवास्ता गर्न दिँदैन। कसैले नियम मिचे कानुनी प्रक्रियाअनुसार कारबाही हुनेछ,” उनले भने।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार छानबिन गरी दोषी ठहरिए आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ। यसअघि पनि नगरपालिकाले भवन निर्माण सम्बन्धी नियम पालना गर्न सम्बन्धित निकायलाई पटकपटक सचेत गराएको थियो। नगर प्रमुख भुसाले थपे, “हामी कानुन कार्यान्वयन गर्न कटिबद्ध छौं। जोसुकैले मापदण्ड मिचे पनि नगरपालिकाले कडा कारबाही गर्छ।”

यस विषयमा थप जानकारी लिन सेन्ट्रल कलेजका सञ्चालक वाईबी पौडेललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

स्थानियले मापदण्ड उल्लंघनका यस्ता गतिविधिहरूले भविष्यमै दुर्घटनाको जोखिम बढाउने भन्दै कडा नियमनको माग गरेका छन्। नगरपालिकाले सम्बन्धित प्राविधिक तथा कानुनी निकायमार्फत विस्तृत अध्ययन गरी आवश्यक निर्णय गर्ने बताएको छ । नगरपालिकाले कलेज प्रशासनलाई मापदण्डभित्र रहेर मात्र निर्माण कार्य गर्न निर्देशन दिएको छ।

Write your Comment