देवचुली । देवचुली १० मा ४३ औं मगर एकता दिवश तथा दसौं विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। पृथ्वी मगर समाज देवचुली १० को आयोजनामा फागुन १२ गतेदेखि १५ गतेसम्म शान्तिदिप खेल मैदानमा विविध कार्यक्रम गरिने भएको हो ।
कार्यक्रममा फागुन १२ गतेदेखि १५ गतेसम्म सांस्कृतिक कार्यक्रम सँगै खुला महिला भलिबल प्रतियोगिता, पुरुष वडास्तरीय खुला भलिबल प्रतियोगिता, विभिन्न परिकारका खानाका स्टलहरु रहने आयोजक पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं आलेले जानकारी दिनुभयो । किशोरी भलिबल प्रतियोगितामा प्रथम र दितीय हुने टिमका लागि क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र नि:शुल्क टिम दर्ता गर्न सकिने उहाँले बताउनुभयो । त्यसै गरि पुरुष तर्फ प्रथम र दितीय हुनेका लागि क्रमशः नगद ५१ हजार र २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र टिम दर्ता शुल्क ३ हजार रुपैयाँ लिईने बताउनुभयो । भलिबल खेलमा उत्कृष्ट खेलाडीका लागि पुरस्कारको व्यवस्था समेत गरिएको छ। फागुन १३ र १४ गते अन्य विविध खेलहरु संचालन गर्ने तयारी आयोजकको छ ।
आयोजकका सचिव गनबहादुर रानाका अनुसार फागुन १५ गते राष्ट्रिय लोक गायक श्याम राना,लोक गायिका प्रीति आले लगायत स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछ भने कौरा, नाचन ( मारुनी) को विशेष प्रस्तुति रहने छ । कार्यक्रम संचालनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने र करिब १० हजार बढीले कार्यक्रमको अवलोकन गर्ने आयोजकको आकलन छ ।